काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसिसीको सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुई पटक परिमार्जन भएको बताएका छन्।
शनिबार नवलपुरमा प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सम्झौतापछि दुई पटक परिमार्जन भइसकेको बताउँदै एमसिसी संशोधन वा परिमार्जन हुँनै नसक्ने सम्झौता पत्र नभएको बताए।
‘नेपालले एमसिसी सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि दुई पटक संशोधन भइसकेको छ। आयोजना अगाडि बढाउँदा कर्मचारी र कार्यालय स्थापनालगायत खर्च एमसिसी योजनाकै बजेटबाट खर्च गर्ने प्रावधान छ।’ अध्यक्ष दाहालले भने, ‘अनुमोदन नहुँदै कर्मचारी राख्ने र कार्यालय स्थापना गर्दा पैसा कसको राख्ने भन्नेमा सुरुमा नेपाल सरकारले नै खर्च गर्ने पछि अनुमोदन भएपछि एमसिसीबाट गर्ने भन्ने संशोधन भएको छ। त्यसैले यो संशोधन वा परिमार्जन हुँनै नसक्ने सम्झौता पत्र होइन।’
अमेरिकाबाट नेपाल भ्रमणमा आएका दुवै टोलीसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमसिसी कुनै बाइबल नभएकाले सरोकारका विषय उठे त्यसलाई परिमार्जन र संशोधन गरेर लिन सकिन्छ भन्नेबारे जानकारी गराइएको अध्यक्ष दाहालले जानकारी दिए।
उनले एमसिसी सुरुमा राजनीतिक दल, नागरिक समाज सबैले रुचि व्यक्त गरेको बताए। उनले ५५ अर्ब सहयोगबारे सुरुमा सकारात्मक परिस्थिति देखिए पनि पछि अध्ययन गर्दै जाँदा त्यसबारे बहसको थालनी भएको स्मरण गरे।
नेकपा केन्द्रीय कमिटी बैठकमा पनि यसका राम्रा नराम्रा पक्षसँगै राष्ट्र हितमा छ/छैन भन्नेबारे अध्ययन गर्नुपर्ने आवाज उठेपछि अध्ययन समिति गठन गरेको अध्यक्ष दाहालको भनाइ छ।
उनले कार्यदलले पनि नेपालको संवेदनशीलतासँग सम्बन्धित केहि विषयलाई पुनर्व्याख्या वा परिमार्जन गरेर भएपनि अगाडि बढाउनु पर्दछ भन्ने ढङ्गबाट सुझाव दिएको बताए।
दुवै अध्यक्षले शुक्रबार प्रतिवेदन बुझेपनि अध्ययन गर्न नपाएको भन्दै शनिबारदेखि नै अध्ययन सुरु गरिने अध्यक्ष दाहालले बताए। उनले एक/दुई दिनभित्र सचिवालयको बैठक बसेर यो विषयलाई टुङ्ग्याउने पनि जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।