काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा गठन गरेको कार्यदलले अध्ययन निष्कर्ष शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ।
एमसिसीलाई परिमार्जनसहित पारित गनुपर्ने तीन सदस्यीय अध्ययन कार्यदलले निष्कर्ष निकालेको हाे। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा स्थायी समिति सदस्य भीम रावल रहेको अध्ययन कार्यदलले हालसम्म बाहिर नआएका विषयसमेत प्रतिवेदनमा समेटेको छ।
अध्ययन कार्यदलले सन् २०१७ मा एमसिसी सम्झौता हुँदा परराष्ट्र मन्त्रालयलाई अर्थ मन्त्रालयले बाइपास गरेको समेत निष्कर्ष निकालेको छ। हालसम्म सार्वजनिक भएका तथ्यभन्दा फरक १४ बुँदामा अर्थमन्त्रालयले सम्झौता गरेको तथ्य भेटिएको बताइएको छ। विदेशी निकायसँग सम्झौता गर्दा परराष्ट्र मन्त्रालयलाई समेत बेखबर बनाइएको प्रति अध्ययन कार्यदलको चासो छ।
संशाेधनसहित पारित गर्नुपर्ने निष्कर्षसँगै एमसिसी पारित हुुनुपर्छ भन्दै आएका परराष्ट्रमन्त्री ज्ञवालीसमेत नैतिक संकटमा परेका छन्। कार्यदलको निचोडमा मन्त्री ज्ञवालीले समेत सहमति जनाएपछि सर्वसहमतिमा प्रतिवेदन बुझाइएको छ। अध्ययनका क्रममा भेटिएका नयाँ तथ्य समावेश गरी संशाेधनसहित पारित गर्न सुझाव दिइएको छ।
कार्यदलले भेटाएको नयाँ १४ बुदाँबारे नेपाली कांग्रेस नेतृत्वकाे सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग प्रतिक्रिया लिँदा उनले १४ बुँदा अध्ययन नै नगरेको बताए। तत्कालीन अर्थमन्त्री कार्कीले भने, ‘एमसिसीलाई जटिल बनाउने कुराहरु निकालिएको छ। १४ वटा बुँदा त मैले पढ्नै पाएको छैन। म पढ्छु।’
परराष्ट्रलाई बाइपास गरेर थप १४ बुँदामा तपाईंले सहमति गर्नुभएको रहेछ? जुन विषय अहिलेसम्म बाहिर आएको थिएन भनि जिज्ञासा राख्दा उनले भने, ‘त्यो गलत कुरा हो, यस विषयमा केहि बोल्दिन। परराष्ट्रलाई बाइपास गरेको भन्नु गलत हो।’
एमसिसीको प्रक्रिया अन्य प्रधानमन्त्री र अर्थमन्त्रीको समयदेखि नै बढ्दै आएको उनले प्रतिक्रिया दिए। एमसिसी पारित गुर्नपर्ने विषयमा कांग्रेस स्पष्ट भएको बताउँदै उनले भने, ‘केन्द्रीय कार्यसमिति र संसदीय दलबाट पारित हुनुपर्छ भन्ने निर्णय गरिसकेको छ। ‘पारित गर्ने/नगर्ने सरकारको कुरा हो। सैन्य गठबन्धनमा जाने नेपालले सोच्ने कुरा होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।