एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साेमबारदेखि भारतकाे भ्रमण गर्दै छन्। उनकाे भारतमा भव्य स्वागत हुने अमेरिकाकाे आशा छ।
भारतमा ट्रम्पकाे स्वागत विदेशी नेतालाई हालसम्म गरिएकाे स्वागतभन्दा बढी हुने अमेरिकी अधिकारीहरूले आशा गरेका छन्। ट्रम्प प्रशासनसँग सम्बन्धित व्यक्तिहरूले सोमबारदेखि सुरु हुने ट्रम्पको भारत भ्रमणले दुई देशबीच बढ्दो व्यापार भिन्नता कम गर्न सहयोग पुर्याउने बताएका छन्।
तर, शुक्रवार वाशिंगटनमा भएकाे पत्रकार सम्मेलनका क्रममा ट्रम्प प्रशासनका तर्फबाट आएकाे भनाइले धेरैकाे ध्यान तानेकाे छ। वार्ताका प्रस्तावित एजेन्डाबारे जानकारी दिन आयाेजित कार्यक्रममा ह्वाइट हाउसका प्रवक्ताले भने, 'मलाई लाग्छ राष्ट्रपति ट्रम्पले लोकतन्त्र र धार्मिक स्वतन्त्रताको विषयलाई लिएर हाम्राे साझा परम्पराको बारेमा सार्वजनिक रूपमै कुरा गर्नुहुनेछ। विशेष गरी धार्मिक स्वतन्त्रताको मुद्दाका बारेमा पनि कुराकानी हुनेछ। प्रशासनको लागि यो महत्वपूर्ण मुद्दा हो।'
बीबीसीका अनुसार विश्लेषकहरूले यो भनाइलाई भारतको नागरिकता संशोधन ऐन र राष्ट्रिय परिचयपत्र दर्तालाई लिएर मुसलमानकाे विराेधसँग जाेडेर हेरेका छन्।
ह्वाइट हाउसका प्रवक्ताले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा राष्ट्रपति ट्रम्पले लोकतान्त्रिक परम्परालाई समर्थन गर्न भारतले धार्मिक अल्पसंख्यकहरूको सम्मानतर्फ ध्यान केन्द्रित गरिरहेको छ भन्ने तथ्यलाई विश्वले नियाली रहेकाे छ भन्ने विषयमा ध्यानाकर्षण गर्ने छन्। संविधानमा पनि धार्मिक स्वतन्त्रता, धार्मिक अल्पसंख्यकहरूको सम्मान र सबै धर्महरूको लागि समानताको अधिकार रहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।