एजेन्सी- कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुनेकाे संख्या २ हजार ३ सय ४५ पुगेकाे छ।
७६ हजार २ सय ८८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे चिनियाँ अधिकारीहरुले बताएका छन्। गत वर्षको अन्त्यमा हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको याे भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भएपनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ।
२० हजार ६ सय ५९ जना उपचारपछि घर फर्किएका छन्। भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्। यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ।
वुहानमा करिब ४ हजार शैयाको नयाँ अस्पताल बन्दै
चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ।
कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा सम्लग्न एक कम्पनीले बताएको छ। अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ।
कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित बनाइएको छ। अस्पतालमा नुहाउने कोठाहरू र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन्।
कोरोनाभाइरसको प्रकोपबीचमा शैयाको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ। ती अस्पलालहरूको कूल २० हजार शैयाबाट प्रायः कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिइदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।