काठमाडौं- मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अध्ययन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले शुक्रबार अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ।
कार्यदलका संयोजक एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल तथा सदस्यद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त अध्ययन प्रतिवेदन बुझाएका हुन्।
नेकपाको गत माघ १५ देखि १९ गतेसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो।
दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो।
कार्यदलको गत माघ २९ गते नै समय सकिएको थियो। पछि नेकपाले थप दश दिनको समय थपेको थियो।
‘कार्यदलको सुझाव पार्टीका अध्यक्षहरूले अध्ययन गरेपछि सचिवालयमा पेस गरेर बिस्तारै सार्वजनिक गरिनेछ।’ उक्त प्रतिवेदन बुझाएपछि कार्यदलका संयोजक खनालले भने‚ ‘आवश्यक ठाउँमा परिमार्जन गर्नुपर्ने सुझाव दिएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।