डडेल्धुरा- नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव ऐतिहासिक झाँकीसहित सुरु भएको छ।
‘सुखी नेपाली समृद्ध नेपाल : कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो।
महोत्वसको एक भव्य कार्यक्रमकाबीच बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले उद्घाटन गरेका छन्। भव्य समाहरोका बीच मन्त्री बोहराले पानसमा बत्ती बालेर महोत्वसको उद्घाटन गरेका हुन्।
२०६५ सालमा पहिलोपटक महोत्सव गरेको उद्योग वाणिज्य संघले यसवर्ष नेपाल भ्रमण वर्षलाई टेवा पुर्याउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिएका छन्।
महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि तथा बाल उद्यानसहितका स्टल रहेका छन् ।
महोत्सवमा लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार-प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
शुक्रबारदेखि राष्ट्रिय कलाकारसँगै सुदूरपश्चिम प्रदेशका कलाकारको महोत्सवमा विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सव उद्घाटन कार्यक्रममा बडालको चौलो, झाँकी प्रदर्शन गरिएको थियो ।
जिल्ला सदरमुकामको बागबजारदेखि महोत्सवस्थलसम्म बडालको चौलो, विभिन्न झाँकीहरू प्रदर्शन गरिएको थियो।
अमरगढी-४ टुँडिखेलमा संचालन भइरहेको महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ।
‘क’ र ‘ख’ वर्गका अपाङता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। महोत्सवको टिकटबाट उठ्ने पैसाको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हवाई मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ।
२ लाख मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको दाबी छ। महोत्सव उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्ल, गोविन्द बोहरा, विभिन्न राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, उद्योगी, व्यवसायीलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।