काठमाडौं– कलाकार जया शर्माको एकल चित्रकला प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा शुक्रबार उद्घाटन गरिएको प्रदर्शनी तीन दिनसम्म जारी रहनेछ । जयाले आफ्नो जीवन, यसमा आएका उत्तारचढाव र चित्रकलाको आफ्नो सुनौलो यात्रालाई विभिन्न चित्रमार्फत् उतारेकी छिन्।
‘ड्रिम वाक २०३३’ नाम दिइएको यो प्रदर्शनीमा जयाले आफ्नो जीवनकालमा पार गरेका विभिन्न महत्वपूर्ण चरणहरुलाई सुन्दर चित्रमा देख्न सकिन्छ । यो चित्रकला प्रदर्शनी जयाकोे जीवनको उपलब्धीहरुको संग्रह हो।
नेपाल ललितकला क्याम्पसमा पूर्व क्याम्पस प्रमुख एवम् वरिष्ठ चित्रकार गोविन्द सिंह डंगोलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जयाका मातापिता सावित्री शर्मा र विजयचन्द्र शर्माले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए। आफुलाई जन्म दिने आमाबाबु र गुरुलाई नमन गर्दै उद्घाटन कार्यक्रममा जयाले भनिन्, ‘मेरा जीवनमा महत्वपूर्ण भुमिका खेल्ने व्यक्तिहरु यहाँ आउनुभएको छ । तपाईंहरुको उपस्थितिले मप्रतिको माया दर्शाएको छ । म चाहन्छु, सबैले मेरो सिर्जनाको उज्यालो महशुस गरुन्।’
नेपालमा चित्रकाला पेशामा लागेर बाँच्न कठिन भएपनि जयाले हिँडेको बाटोको तारिफ डंगोलले गरे। बिम्बात्मक शैलीको चित्रबाट प्रदर्शनी शुरु गरिएको छ भने अन्त्य पनि बिम्बात्मक शैलीमै गरिएको छ । जन्म र मृत्यु जस्तो थाहा नहुने र महशुस गर्न नसकिने दुई प्रक्रियाको बीचमा रहने जिन्दगीका विभिन्न भोगाइहरु यसमा समेटिएका छन् । जया भन्छिन्, ‘संसारमा जन्म लिएसंगै हामी बिजेता बनिसकेका हुन्छौँ । यो संसारमा यिनै बिजेताहरुको भिडमा एकअर्कालाई उछिन्ने प्रतिस्पर्धा नै रोचक छ । यो जिन्दगी सुनौलो छ । फेरी हामी किन चिन्ता गर्ने ?’
.jpg)
जया शर्मा कलाकारिताको दुनियाँमा नयाँ नाम होइन । बाल्यावस्थादेखी नै कला विद्यामा आकर्षित जयाले चित्रकलामा आफ्नो परिचय स्थापित गरेकी छिन् । उनी कुनै बेला मोडलिङ र पत्रकारितामा समेत सक्रिय थिइन्। आफ्नो सबैभन्दा रुचिको चिज चित्रकलालाई अगाडी बढाउन पनि उनले थुप्रै कठिन परिस्थतीको सामना गर्नुपरेको बिताइन्।
खराब स्वास्थ्य अवस्थासंग जुध्दाजुध्दै पुर्नजन्म पाएकी जयाले चित्रकलालाई नै आफ्नो भविष्य ठानेर नेपाल ललितकला क्याम्पसमा भर्ना भइन्। पढ्दा पढ्दै उनको विवाह भयो । विवाहपश्चात् उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् । एक सन्तानको आमा भएपछि उनले आँट गरेर पुनः काम थालिन् तर फरि पारिवारीक स्थितीले थिचिएर उनको सपना अधुरै रह्यो । दोस्रो सन्तान पछि भने सक्रियताका साथ चित्रकला थालेकी जयाले चित्रकलामा स्नात्तकोत्तरसम्मको अध्ययन पूरा गरेकी छिन्।
जन्मसँगै बाल्यावस्था, युवाअवस्था, पुर्नजन्म, विवाह, सोचमग्न परिस्थति, जिवनका आरोह–अवरोह, नयाँ सोच र सफलता लगायत कुराहरुलाई चित्रमार्फत समेटेर राखिएको प्रदर्शनी निकै कलात्मक देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।