बेइजिङ- कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले चीनका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छन्।
शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब चार सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो।
यो प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।
चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र दुई सय कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन्।
यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएपछि उक्त कारगारका निर्देशकले जानकारी दिएका छन्।
गतवर्ष अन्त्यमा भाइरस देखापरेको मध्य प्रान्त हुबेईको कारागारले बिहीबार २ सय ७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको बताइएको छ।
हुबेई प्रान्तमा बिहीबार ४ सय ११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको पुष्टि भएको थियो। तर‚ केही समयपछि कारगारमा देखिएको सङ्ख्यासहित ६ सय ३१ जनामा सो भाइरसको सङ्क्रमण देखिएको जानकारी दिइएको छ।
यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन झन् भन्दा झन् प्रभावित हुँदै गएको बताइएको छ। यहाँका विद्यालयहरु बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ।
त्यसैगरी बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा पनि यस सङ्क्रमणका बिरामी देखिएपछि बेइजिङले थप सतर्कता अपनाउनुपर्ने भनेको छ।
बेइजिङका फक्सिङ अस्पतालका ३६ जना कर्मचारी बिरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि बिरामी परेका छन्। ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको सङ्क्रमण देखिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।