काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपाल कम्युनिष्ट पार्टीको कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ।
आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाउने भएको हो। केन्द्रीय समिति बैठकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार पारिकेको र सम्भव भएसम्म आजै बुझाउने तयारी गरेको कार्यदलका सदस्य भीम रावलले बताए।
सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन भएको उनले बताए। ‘गहन विश्लेषण र विस्तृत अध्ययन पश्चात् प्रतिवेदनको मस्यौदा तयार भएको छ,’ उनले भने।
यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडी बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि मात्रै जानकारी हुने उनले बताए। उनी भन्छन्, ‘केन्द्रीय कमिटि बैठकले नै अध्ययन पछि प्राप्त सुझावहरुका आधारमा सम्बन्धित तहबाट छलफल भएपछि निर्णय गर्ने भन्ने छ । त्यस अनुसार नै हुन्छ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो । एमसीसीको मुल सम्झौता सँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।