काठमाडौं–नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपविरुद्ध उक्त संगठनले शुक्रबार विरोध सभा गरेको छ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्तको माग गर्दै प्रर्दशनमा उत्रिएका संघका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रदर्शनीमार्गमा भएको विरोधका क्रममा आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले घाइते बनाएको भन्दै संघले विरोध गरेको हो।
सरकार जनताको रक्षक नभएको संघले आरोप लगाएको छ। प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसअगाडि गरिएको सरकारविरोधी प्रदर्शनमा संघका कार्यकर्ताले कालो कपडाले मुख छोपेर विरोध गरेका थिए। सहभागीहरुले सरकारविरोधी चर्का नारासमेत लगाए। विरोध कार्यक्रमलाई सांघका पदाधिकारीले सम्बोधन गरेका थिए।
बिहीबारको विरोध प्रदर्शनमा घाइते भएका नेता तथा कार्यकर्ता उपचारपछि घर फर्केका छन्। प्रहरीको कुटाइबाट संघका अध्यक्ष राजीव ढुंगाना, तुलसा पन्त, उर्मिला थपलिया, दीपक भट्टराई, युवराज पाण्डेलाई चोट लागेको थियो। हिजोको प्रदर्शनमा प्रहरीको कुटपिटबाट आधा दर्जन नेता कार्यकर्ता घाइते भएको संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।