काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बालुवाटार बोलाएका छन्। पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाइएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहरकार सूर्य थापाले समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन्। टुँडिखेलमा सेना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम सकिएपछि अध्यक्षद्वयबीच भेट हुनेछ।
विशेषगरी सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटा ७० करोड घुस प्रकरणमा मुछिएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने बुझिएको छ। स्वीस कम्पनीको एजेन्टसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजिनामा दिएका छन्।
प्रतिपक्षी नेपाल कांग्रेसले बाँस्कोटाले राजीनामा दिएर मात्रै नपुग्ने भन्दै संसद अवरुद्ध गरिरहेको छ। उनीमाथि अख्तियारले छानबिन गर्नुपर्ने र प्रधानमन्त्री ओलीले संसदमा आएर जवाफ दिनुपर्ने माग राखेको छ।
यो प्रकरणले सिर्जना गरेको राजनीतिक जटिलतालाई कसरी सल्टाउने भन्ने विषयमा अध्यक्षद्वयको छलफल केन्द्रित हुनेछ। बाँस्कोटाको बहिर्गमनसँगै खाली भएका दुई मन्त्रालयको जिम्मेवारी र अन्य मन्त्रीहरुको कामकारबाहीका बारेमा पनि कुरा हुने बुझिएको छ।
केही दिनअघि मात्रै जिल्ला अदालत काठमाडौंबाट बलात्कार प्रयास आरोपमा सफाइ पाएका कृष्णबहादुर महराका विषयमा पनि छलफल हुनेछ। सभामुख पदबाट राजीनामा दिएका महरालाई उपयुक्त व्यवस्थापन गर्नुपर्नेछ।
फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।