काठमाडौं– संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४३औं वार्षिक बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जेनेभा प्रस्थान गर्दै छन्।
परिषद बैठकमा सहभागी हुन शुक्रबार स्वीट्जरल्याण्डको जेनेभा जान लागेका मन्त्री ज्ञवालीले मंगलबार बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बैठकमा मन्त्री ज्ञवालीले विशेष गरी संक्रमणकालीन न्यायबारे नेपालले गरेको प्रगतिबारे जानकारी गराउने छन्। त्यस क्रममा उठ्न सक्ने प्रश्नको पनि उनले जवाफ दिने छन्। जेनेभा बसाइका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रसंघका उच्चायुक्तसँग भेटघाट गर्ने छन् भने युरोप क्षेत्रका नेपाली कूटनीतिज्ञहरुसँग अन्तरक्रिया पनि गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकको साइडलाइनमा मन्त्री ज्ञवालीले विभिन्न देशका समकक्षीहरुसँग पनि भेटघाट गर्ने छन्। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र जेनेभास्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका वरिष्ठ अधिकारीहरु संलग्न हुने छन्।
ज्ञवाली आगामी शुक्रबार नेपाल फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।