काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको २ वर्षीय मन्त्री यात्रामा काण्डै काण्ड थुप्रिँदै गइरहेको थियो। कुनै काण्ड उनको छुच्चो बोलीले निम्त्याएको थियो त कुनै मपाइवईंत्वले।
आर्थिक मामिलामा पनि पटक पटक उनको नाम जोडिइरह्यो। तर‚ उनले आरोपहरु हल्का टिप्पणी गरेर थिचथाच पारिरहे ।
बुधबार मध्यरात सार्वजनिक भएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा एजेन्टसँग कमिसन लेनदेनको अडियोको प्रभावलाई पनि उनले ‘यस्ता आरोप त लाग्दै गर्छन्‚’ भन्दै पेलपाल गर्ने प्रयास नगरेका हैनन्। तर‚ उनले चाहेर पनि यसको प्रभाव निस्तेज पार्न भने सकेनन्।
स्वीस कम्पनीका लोकल एजेन्ट भनिएका विजय मिश्र र मन्त्री बाँस्कोटाबीच सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा चलेको दुई मिनेट ३१ सेकेन्डको अडियो संवाद उनले अस्वीकार गर्नसक्ने अवस्था थिएन।
विवादित अडियो सार्वजनिक भएसँगै मन्त्री बाँस्कोटालाई पदबाट बर्खास्त गरेर उनीमाथि अनुसन्धान प्रक्रिया थाल्न सडक र सदन दुवैतिर दबाब बढेपछि नैतिकता कारण देखाउँदै उनले राजीनामा दिए।
तर उनको कार्यकालमा उनी मुछिएको काण्ड यो नै पहिलो भने होइन। नियुक्ति, खरिद, अपत्यारिलो सम्पत्ति विवरणमा समेत उनी विवादमा आइ नै रहेका थिए।
सबै काण्डलाई पेलपाल पारेर तह लगाउन सफल भएका थिए।
उनको मन्त्रीयात्रामा सार्वजनिक भएका केही काण्ड समावेश गरिएको छ।
फोरजी प्रकरण
नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा मन्त्री बाँस्कोटाले कमिसन खान खोजेको अरोप लागेको थियो। १९ अर्ब खर्चेर टेलिकमको फोरजी सेवा देशभर विस्तार गर्ने योजनामा अनियमितता भएको विषयले संसदको अर्थ समितिमा समेत प्रवेश पाएको थियो।
समिति बैठकमा सांसदहरुले फोरजी सेवा विस्तारमा ठूलो अनियमितता भएको आशंका व्यक्त गर्दै छानबिनको माग गरेका थिए। फोरजी सेवा विस्तारको ठेक्का चिनिया कम्पनी जेटिईले पाएको थियो। नेकपाकै सांसद रामकुमार झाक्रीले समेत समितिमा फोरजी सेवा विस्तारको पारदर्शीतामाथि प्रश्न उठाएकी थिइन्। तर यो प्रकरण त्यत्तिकै सेलायो। बाँस्कोटाले प्रधानमन्त्री लगेर फोरजी सेवाको शुभारम्भ गराए।
दिगम्बर झा नियुक्ति प्रकरण
अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने प्रक्रियामा अपदस्त भएका दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा पदमुक्त भएको दुई महिनापछि उही पदमा फर्किए।
विभागीय मन्त्रीका हैसियतले बाँस्कोटा आर्थिक प्रभावमा परेर झालाई नियुक्त गरेको भन्दै उनकै पार्टीभित्र विरोध भयो।
नेकपामा ४३ केन्द्रीय सदस्यहरुले झाको नियुक्ति खारेजीको माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेखेपछि झा टिक्न सकेनन् र राजीनामा दिएर बिदा भए।
टेलिकम महाप्रबन्धक नियुक्ति
नेपाल टेलीकमको महाप्रबन्धकमा डिल्लीराम अधिकारीको नियुक्ति पनि विवादरहित हुन सकेन। खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्ये १० औं तहका अधिकारी महाप्रबन्धकमा नियुक्त भएका थिए।
उनी नियुक्त हुनुअघि नै सञ्चारमन्त्री बाँस्कोटासँगको निकटता सार्वजनिक भएको थियो। खुला छनौटको प्रक्रियालाई देखावटीमात्रै बनाउँदै अधिकारीलाई नियुक्ति गरेको भन्दै उनको आलोचना भएको थियो।
दाइजो प्रकरण
पत्रकारिता पृष्ठभूमिका बाँस्कोटा मन्त्री भएसँगै पत्रकारसँगै निहु खोजेरै कार्यकाल बिताए। कतिसम्म भने आफूलाई मन नपर्ने प्रश्न सोध्नेको कार्यक्रम समेत बन्द गराइदिएका थिए।
नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ कार्यक्रममा दाइजोसम्बन्धी प्रश्न गर्दा राजु थापाले तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाको इच्छाविपरीत प्रश्न सोधेपछि बाँस्कोटा झोक्किए।
प्रश्नमा उनले सम्पत्ति विवरणमा उल्लेख गरेको दाइजो अनि सामसुङको आइफोनको प्रसंग थियो। १२ जेठ २०७५ प्रसारण भएको लाइभ टक शो प्रशारणपछि उनको कार्यक्रम रोकियो।
थापाले बाँस्कोटाको शैली ‘श्री ३ महाराज’ को भन्दा कम महशुस नभएको टिप्प्णी गर्दै‚ ‘१२ वर्षको टेलिभिजन यात्रामा यति धेरै दबाब झेलेको पहिलो पटक’ भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।