काठमाडौ- भ्रष्टाचार मुद्दामा फाइल नपठाएको भन्दै अख्तियार सचिवलाई कारबाहीको चेतावनी दिएको सर्वाेच्च आफ्नै निर्णयबाट पछि हटेको छ।
अख्तियारका तत्कालीन सचिव महेश्वर न्यौपाने हाल गृहसचिवमा सरुवा भएको र अख्तियारमा नयाँ सचिव आएकाले सर्वोच्चले फाइल खोज्न समय दिएको हो। माघ २० मा बसेको मन्त्रिपरिषदको बैठकले अख्तियार सचिवको जिम्मेवारी सुरेश अधिकारीलाई दिएको छ।
आयल निगमका पूर्व प्रमुख युवराज शर्माको भ्रष्टाचार मुद्दामा अनुसन्धान अधिकृतको निर्णय पेश नभएपछि कारबाहीको चेतावनीसहित आदेश जारी गरेको सर्वोच्चले नयाँ सचिव सुरेश अधिकारीले समय मागेपछि फाइल उपलब्ध गराउन समय दिएको हो।
न्यायाधीशहरु अनिलकुमार सिन्हा,तेजबहादुर केसी र मनोज शर्माको इजलाशले फाइल खोजेर पठाउन १५ दिनको समय दिएको हो। फेरि पनि अदालतले मागेको फाइल नभेट्टाएको जवाफ लिएर अख्तियारका सचिव अधिकारी सर्वोच्च अदालतको इजलासमा उपस्थित भएका थिए।
सर्वोच्चले पटकपटक लिखित रुपमा अनुसन्धान अधिकृत नियुक्त गरेको र मुद्दा चलाउन भएको निर्णयको सक्कल फाइल उपलब्ध गराउन भने पनि ‘हराएको भन्दै’ आयोगले पेश गरेको थिएन।
लिखित आदेशलाई अवज्ञा गरेपछि गएको माघ १६ गते न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले १५ दिनभित्र अख्तियार सचिवलाई फाइल बोकेर आफैं उपस्थित हुन आदेश दिएको थियो।
आदेशबमोजिम आयोगका सचिव उपस्थित भए पनि भनेअनुसार फाइल भने पेश गर्न नसकेको अख्तियार स्रोतले देश सञ्चारलाई जानकारी दियो।
सर्वोच्चले आदेश दिँदा आयोगका सचिव महेश्वर दाहाल भए पनि आदेश कार्यान्वयन गर्ने दायित्व अधिकारीले पाएका हुन्। उनी १ नम्बर प्रदेशको सचिवबाट बढुवा भएर अख्तियारको सचिव भएका हुन्।
त्यसपछि शर्माविरुद्ध सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता भएको थियो। पुनरावेदनपछि सर्वोच्चले ५३ लाख भ्रष्टाचार गरेको ठहर गरेको थियो।
त्यसविरुद्ध शर्माले सर्वोच्चमा मुद्दा पुनरावलोकनको लागि निवेदन दिएका थिए।
आयोगले सक्कल फाइल उपलब्ध नगराउँदा सर्वोच्चमा सुनुवाई अघि बढ्न सकेको छैन। चार वर्षको अविधिमा २४ पटक मुद्दाको पेशी तोकिए पनि फैसला हुन सकेको छैन।
सर्वोच्चले यसअघि २०७५ कात्तिक ८ गते र २०७५ फागुन २३ गते शर्माविरुद्ध मुद्दा चलाउने आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो। जवाफमा आयोगले ‘फेला नपरेको’ भन्दै पत्र पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।