काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्रै उन्मुक्ति नपाउने बताएको छ।
संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक पुष्पा भुसालले मन्त्री बाँस्कोटा मुछिएको घुस प्रकरणको नैतिक जिम्मेवारी प्रधानमन्त्री केपी शर्माले लिनुपर्ने बताइन्।
सेक्युरिटी प्रेस खरिद तथा स्थापनाका लागि स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसनको ‘डिल’ गरेको खुलेको थियो।
मन्त्रिपरिषदको निर्णयहरुको अन्तिम जवाफदेही व्यक्ति प्रधानमन्त्री भएकाले कमिसन प्रकरणको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताइन्।
एक बजे बोलाइएको संसद बैठक दुई घन्टा ढिलो गरि सुरु भएको थियो।
बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरुले टेबल ठोके।
सभामुख अग्नि सापकोटाले भुषाललाई बोल्न समय दिएका थिए।
‘भ्रष्टचार नगर्ने र गर्न नदिने भन्नुभएको प्रधानमन्त्रीले अडियोलाई कसरी लिनु हुन्छ?’ उनले भनिन्, ‘प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ।’
प्रधानमन्त्री नै भ्रष्ट्राचारका कार्यमा लिप्त भएको आरोप लगाइन्।
उनले भनिन्, ‘बाँस्कोटालाई अब्बल भन्नुको अर्थ भ्रष्ट्राचारमा प्रधानमन्त्री पनि सम्लग्न हुनु हो।’
बर्खास्त र राजीनामाले मात्रै कांग्रेसले सदन नखुलाउने उनले बताइन्।
प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर भ्रष्टाचारको तटस्थ रुपमा छानबिन हुनुपर्ने अडान भुसालले राखिन्।
‘राजीनामा दिएकै कारण पनि उन्मुुक्ति दिनु हुँदैन। तटस्थ रुपमा छानविन गर्नुपर्छ। कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।