काठमाडौं– गुठी संस्थान भक्तपुर शाखाका कार्यालय सहायक प्रशासक छत्रबहादुर पौडेललाई विशेष अदालतले दोषी ठहर गरेको छ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको ठहर गर्दै विशेषले ३ महिना कैदको फैसला सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २०७३ चैत १३ गते घुस रकमसहित पक्राउ गरेर २९ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सूर्यविनायकमा रहेको संस्थानको कार्यालयका सहायक प्रशासक पौडेलले गुठीको जग्गा जोत नामसारी गर्ने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गर्दै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो। पौडेललाई घुस लिइरहेको अवस्थामा कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।