काठमाडौं- सुरक्षित मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रक्रिया चल्दै गर्दा संचार मन्त्री, मन्त्रालयका सचिव, उपसचिवसहितको उच्चस्तरीय भ्रमण टोलीले फ्रान्स र जर्मनीका कम्पनीको खर्चमा पटक-पटक त्यहाँ भ्रमण गरेको देखिएको छ।
मन्त्रिपरिषदले गत कात्तिक २० गते जिटुजी प्रक्रियामा सेक्युरिटी प्रेस खरिद गर्ने निर्णय गर्नु अगावै र पछि गरी पटक पटक मन्त्रीसहितको टोलीले कम्पनीको रकममा विदेश भ्रमण गरेको देखिएको हो।
बिहीबारको बैठकमा लेखा समिति सदस्य विरोध खतिवडाले फ्रान्स र जर्मनीको कम्पनीको खर्चमा पटक-पटक भ्रमणमा गएको भन्दै प्रश्न उठाएका थिए। मन्त्रीसहितको र मन्त्री बाहेकको टोलीले सेक्युरिटी प्रिन्टिङको विषय भन्दै कति पटक फ्रान्स र जर्मनीको भ्रमण गरेको हो र त्यसको खर्च कसले व्यहोरेको हो भनेर मन्त्रालयले खर्च विवरण देखाउनुपर्ने खतिवडाको भनाइ थियो।
अर्का सांसद राजन केसीले नेपाली टोली कति पटकसम्म त्यो कम्पनीको बोलावटमा भ्रमणमा गएको हो भनेर जान्न मन्त्री, सचिव र उपसचिवलगायत व्यक्तिहरुको पासपोर्ट जाँच गरिनुपर्ने बताए। ‘भ्रमणमा को को गए? कहिले गए? कसको खर्चमा गए? पटक-पटक भएको फ्रान्स र जर्मनी भ्रमणको छानबिन गरियोस्। ती व्यक्तिका पासपोर्ट लेखा समितिले हेरोस्,’ उनले भने।
सांसदहरुले भ्रमणका विषयमा कुरा उठाएपछि सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले आफू भ्रमण टोलीमा रहेर जर्मनी जाँदा नेपाल सरकारको खर्चमा गएको र फ्रान्स जाँदा सम्बन्धित देशको दुतावासबाट खर्चको प्रबन्धसहित निमन्त्रणा आएको जवाफ फर्काएका थिए।
सेक्युरिटी प्रिन्टिङकै सन्दर्भमा विभिन्न समयमा उच्चस्तरीय भ्रमण भएको भएपनि को को संलग्न थिए र खर्च कसले व्यहोरेको थियो भन्ने पौडेलले खुलाएनन्।
कार्यकारी निर्देशक पौडेलले भ्रमणका विषयमा जवाफ नफर्काएपछि समिति सदस्य डा मीनेन्द्र रिजालले समितिको अवहेलना गरेको र समितिलाई वास्तविक जानकारी नदिएको भन्दै मुद्दा हाल्नेसम्मको चेतावनी दिएका थिए। तर‚ पौडेलले सबै भ्रमणबारे आफूलाई विस्तृत जानकारी नभएको भन्दै समितिलाई जवाफ फर्काएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।