काठमाडौं- नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको राजीनामा माग गर्दै राष्ट्रियसभा अवरोध गरेको छ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापनाका सन्दर्भमा कमिसन रकम 'डिल' गरेको अडियो सार्वजनिक भएको थियो।
अवरोध गर्नुअघि कांग्रेसका तर्फबाट जितेन्द्र नारायण देवले बोलेका थिए।
'उहाँ सञ्चारमन्त्री मात्रै होइन, सरकारको प्रवक्ता पनि हुनुहुन्छ। प्रधानमन्त्रीको निकट पनि हुनुहुन्छ', देवले भने, 'उहाँजस्तो मन्त्रीले भ्रष्टाचार गर्ने गरी ठाडै कमिशनको कुरा गर्न मिल्छ कि मिल्दैन। यो अत्यन्तै आपत्तिजनक, भर्त्सनायोग्य र विरोधयोग्य छ।'
उनले सरकार चुप लागेर बस्न नमिल्ने बताए।
'हामी तीनवटा माग गर्दछौं। पहिलो, प्रधानमन्त्रीले अबिलम्ब मन्त्रीलाई बर्खास्त गर्नुपर्छ। दोस्रो, यो घटनाको बारेमा तुरुन्त छानबिन समिति बन्नुपर्छ। तेस्रो, यो घटना के हो, यसको बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ' देवले भने।
उनले छानबिनको प्रक्रिया अगाडि नबढेसम्म र प्रधानमन्त्रीले जवाफ नदिएसम्म हामी संसद अघि बढ्न नदिने बताए।
राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ मा बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।