भ्रष्टाचारीहरुप्रति निकै कडा सुनिन्छन्-प्रधानमन्त्री केपी शर्मा ओली। उनले भन्ने गरेका छन्- भ्रष्टाचारीको मुख पनि हेर्दिनँ।
अहिले उनी आफ्नै बोलीको मर्यादा कायम गर्नुपर्ने अवस्थामा पुगेका छन्।
प्रधानमन्त्रीका विश्वास पात्र तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको 'डिल' को अडियो रेकर्ड सार्वजनिक भएको छ। सार्वजनिक भएका बाँस्कोटाका प्रारम्भिक प्रतिक्रिया अनुसार, अडियोमा बोल्ने उनी नै हुन्।
तथ्यहरु बाहिर नआएको भए पनि मन्त्री बाँस्कोटालाई केही प्रकरणसँग जोडेर शंकास्पद दृष्टिले हेरिने गरिएको थियो। आफ्ना मन्तव्यहरुमा उनले आफूमाथिको शंकाको प्रतिवाद गर्ने गरेका थिए। तर, पछिल्लो प्रकरण भने उनका निम्ति बढी नै चुनौतीपूर्ण देखिन्छ। यद्यपि, यसको विस्तृत आयाम भने सार्वजनिक भइसकेको छैन। सत्यको विविध दायरा खुल्नै बाँकी छ।
तर, प्रधानमन्त्री ओलीको परीक्षा भने सुरु भएको छ।प्रधानमन्त्रीले यो विषयमाथि कसरी कदम चाल्छन् भन्ने अहिले प्रतीक्षाको विषय बनेको छ।
देशमा भ्रष्टाचार बढेको भन्नेमा धेरैको धारणा सुनिन्छ। अझ आलोचकहरु त 'देशमा सबैभन्दा पारदर्शी विषय नै भ्रष्टाचार रहेको छ' भन्छन्। तर, प्रधानमन्त्री ओलीले भने यो विषयलाई सधैं प्रतिवाद गर्दै आएका छन्। उनले भ्रष्टाचार बढेको नभई भ्रष्टाचारीहरुलाई कारबाही गरिएको तर्क पेश गर्ने गरेका छन्। तर, पछिल्लो प्रकरणले उनलाई चुनौती दिएको छ। प्रधानमन्त्री स्वयंले भ्रष्टाचार गरेनन् होला, तर उनी वरपरका धेरैका निम्ति अहिलेको सुनौलो समय आएको आरोपमा धेरथोर सत्यता रहेको पछिल्लो प्रकरणले देखाउँछ। बाँस्कोटा प्रकरणले आगोमा घ्यु थपेको छ।
यसअघि अख्तियारका आयुक्त राजनारायण पाठक जोडिएको भिडियो पनि प्रधानमन्त्रीले मिडियामा सार्वजनिक हुनुअघि नै हेरेका खबर सार्वजनिक भएका थिए। बाँस्कोटाको अडियो भने उनले पहिल्यै हेरिसकेको समाचारहरुमा आइरहेका छन्। यस्तो हो भने उनीमाथि पनि प्रश्न उठ्छ। उनी बाहिर भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्ने तर भित्रभित्र चुप लाग्ने गरेको बुझिन्छ। त्यसले उनी भ्रष्टाचारी संरक्षणकर्ता भएको पुष्टि हुन्छ। पछिल्लो प्रकरण उनलाई आफूमाथिको आरोप चिर्ने अवसर पनि हो। त्यसका उनको कठोर कदम अपेक्षित छ।
बाँस्कोटा प्रकरणको तथ्य विस्तारै सार्वजनिक होला। उनले पनि आफ्नो बचाउ त गर्लान् नै। बिहीबार बिहान कञ्चनपुरमा आयोजित कार्यक्रममा उनले आरोपहरु लाग्नु स्वभाविक भए पनि त्यो प्रमाणित हुनुपर्ने बताएका छन्। यस सन्दर्भमा उनको थप धारणा आउने नै छ।
यस प्रकरणमा कोही दोषी ठहर होला वा नहोला, तर जुन अडियो सार्वजनिक भएको छ, त्यसमाथि निष्पक्ष छानबिन हुनुपर्छ। त्यसका लागि मन्त्री बाँस्कोटाले पदबाट बाहिरिएर सहयोग गर्नु उचित हुन्छ। पदीय शक्तिको आडमा आफ्नो बचाउ गर्नु नैतिकपूर्ण काम हुँदैन। यसअघि विवादित भएपछि पदबाट राजीनामा दिएका यसै मन्त्रिपरिषद्का सदस्य शेरबहादुर तामाङबाट उनले सिक्नु जरुरी छ।
बाँस्कोटाले पद त्याग्न आनाकानी गर्छन् भने प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्छ। र, उनीमाथिअनुसन्धानका लागि थप सहयोग गर्नुपर्छ। विगतमा दृढताका साथ राखेका आफ्नै प्रतिबद्धताको मर्यादा राख्न समेत उनको त्यस्तो कदम आवश्यक छ। उनले बुझ्नुपर्छ-आरोपितलाई पदमै राखेर सुशासनको विश्वास दिलाउन सकिँदैन। आफ्नै सहयात्रीमाथि कडा कदम चाल्न सकेमात्रै प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धतामाथि आम विश्वास जाग्नेछ। होइन भने, प्रधानमन्त्री ओली समृद्धिको पर्दा लगाएर कुशासनको नाइके बनिरहेका छन् भन्ने पुष्टि हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।