काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाएका छन्। सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि उनले यस्तो सुझाव दिएका हुन्।
उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन्। अडियो सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चारमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।’
यसैगरी उनले दोषी देखिए बाँस्कोटा कानुनबमोजिम सजायको भागीदार हुने भन्दै सहकर्मीलाई धैर्य गर्न आग्रह गरेका छन्। आफूले कांग्रेस निकट विद्यार्थी संगठनजस्तो भ्रष्टाचार आरोपी जोगाउन सडकमा नउत्रिने स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘साथीहरु धैर्य गर्नुस्, दोषी भए कानुनबमोजिम गोकुल बाँस्कोटा सजायको भागिदार हुनेछन्, हामी आलम र गच्छदारलाई जोगाउन सडकमा गएजसरी जाँदैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।