काठमाडौं– सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले खाएको विषमात्र लाग्नेभन्दै आफूमाथि लागेको ७० करोड घुसको बार्गेनिङ आरोप सत्य नभएको जिकिर गरेका छन्।
आजै बिहीबार कन्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै बाँस्कोटाले भने, ‘आरोपहरु आउँछन् कहिले भ्रष्टाचारको, कहिले दुराचारको, तर ती प्रमाणित हुनुपर्छ।’ उनले यस्ता आरोप दिनदिनै लाग्नेभन्दै आफूमाथि लागेको आरोप सत्य नभएको बताए।
‘६० कि ७० करोडको कुरा आएको छ, जतिसुकै होस् मलाई के थाहा छ भने मैले पार्टी र नेता कार्यकर्तालाई धोका दिन हुँदैन’, उनले भने, ‘प्रविधि अनेक थरिका छन्। ३० देखि ६० कति दिने कुरा हुन्छ नि। जे भएपनि अर्बबाट करोडमा आएपछि किन चिन्ता गर्नु पर्यो।’
आफूमाथि लागेको गम्भीर आरोपलाई हाँसोमा उडाउँदै उनले आरोप पुष्टि हुनुपर्ने दाबी गरे।
‘नेकपाको भ्रष्टाचार अस्वीकार गर्ने चरित्र छ। यसका नेता कार्यकर्ताले गर्न मिल्दैन, गरेमा पार्टीले भोग्दैन। व्यक्तिले भोग्नु पर्दछ’ उनले भने, ‘ खाएको लाग्छ, नखाएको लाग्दैन। आरोप लगाएर त हुदैन नि। त्यसमा अरु नै चिजको संयोजन होला नि।’
उनले सत्ता सञ्चालन गर्दै सबैलाई यस्तै आरोप आउने जिकीर गरे। काम गर्दा वडाध्यक्षदेखि मेयरसम्मले भ्रष्टाचारको आरोप खेप्नु पर्ने भन्दै उनले सबै भ्रष्टाचारी हुन् भनेर कुनै निकायबाट प्रमाणित हुनुपर्ने दावी गरे।
सरकार भ्रष्टाचारको विरोधमा हुँदाहुँदै चुर्लुम्ब डुबेका आरोप लगाइएको उनले बताए। ‘बालुवाटारको छानबिन गरेर मुद्दा दायर हुन्छ तर माधव नेपाललाई र विष्णु पौडेललाई खै भन्न मिल्छ?’ उनले भने, ‘अख्तियारजस्तो स्वतन्त्र निकायले गरेको काममा पनि किन अरुलाई जोड्नु जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।