राजविराज– प्रदेश २ का प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) प्रद्युम्न कार्कीले अपराध र अपराधीसँग प्रहरीको कुनै पनि साँठगाँठ र सम्झौता स्वीकार्य नहुने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीको नवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुखको निवास तथा भान्साघर भवनको उदघाटन गर्न बुधबार राजविराज आएका उनले मातहतका प्रहरी अधिकारीलाई सम्वोधन गर्दै यस्तो बताएका हुन्। कार्कीले अपराधीसँग प्रहरीको कुनै पनि प्रकारको सम्बन्ध पुष्टि भए तत्काल कारबाही गरिने चेतावनी पनि दिए।
शान्तिसुरक्षा स्थापना र अपराध नियन्त्रणमा जनतासँग हातेमालो गर्न उनले सुझाए। हालसम्मको प्रहरीको सफलता नागरिकसँगको सहकार्यले मात्रै सफल भएको उल्लेख गर्दै उनले एक्लो प्रयासले मात्र प्रहरीले आफनो दायित्व र जिम्मेवारी पुरा गर्न नसक्ने बताए।
सप्तरीलगायत प्रदेश २ का आठै जिल्लामा लागुऔषधको प्रयोग तथा बिक्रीवितरण, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती बढदै गएकोमा चिन्ता व्यक्त गर्दै कार्कीले नागरिकको सहयोग र सहकार्यबाटै प्रहरीले यस्ता विकृति र विसंगति अन्त्यका लागि काम गर्नु पर्ने बताए।
नेपाल सरकारको नियमित कार्यक्रमअन्तर्गत २ करोड ५१ लाखको लागतमा निर्माण भएको हिरासत कक्ष, कार्यालय प्रमुखको निवास र भान्साघरको कार्कीले उदघाटन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।