काठमाडौं– ‘द काठमान्डु पोष्ट’ दैनिकमा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिको सम्पादकहरूले भत्सर्ना गरेका छन्।
विभिन्न सञ्चारमाध्यमका १६ सम्पादकले संयुक्त विज्ञप्ति जारी गर्दै चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’
सम्पादकहरूले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।काठमान्डु पोष्टले मंगलबार ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको लेख प्रकाशित गरेको थियो।
नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ।
.jpg)
सोही विषयलाई लिएर मंगलबार साँझ विज्ञप्ति निकाल्दै दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएको छ। सम्पादक काफ्लेले पहिलादेखि नै चीनसम्बन्धी एकपक्षीय समाचार दिइरहेको र यसपटक हद नाघेको दूतावासको भनाइ छ। काफ्ले चीनविरोधी शक्तिको सुगा बनेको पनि आरोप पनि दूतावासले लगाएको छ।
यस्तो छ दूतावासको विज्ञप्ति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।