काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुर्याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन्। विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे।
राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ।'
प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए। उनले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताए। संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताए।
नयाँ मुलुकमा राज्य संरचना, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको उल्लेख गर्दै उनले एउटा सरकारको ठाउँमा अर्काे सरकार बनेजस्तो सहज नभएको बताए। उनले छोटो अवधिमा चिरकालदेखि देखिएको जनआकाङ्क्षाको सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा रहेकाले अहिलेको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाउर्ने आवश्यकता औँल्याए।
सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको ओलीले बताए। यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। समारोहमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापाकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।