काठमाडौं– नेपाल र बंगलादेशबीच मंगलबार द्विपक्षीय वार्ता भएको छ।
बंगलादेशको तीन दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता भएको हो। बंगलादेशको सरकारी भवन पद्मामा भएको द्विपक्षीय वार्तामा दुवै पक्षले नेपाल र बंगलादेशबीचको सम्बन्धका सबै पक्षमा बृहत समीक्षा गर्दै सहकार्यलाई थप बलियो बनाउन सहमति जनाएका छन्।
अनावश्यक सीमा शुल्क हटाउँदै द्विपक्षीय व्यापारलाई विस्तार गर्न, सीमा विन्दुमा सहजिकरण गर्न, सम्पर्क सञ्जाल विस्तार र यतायाय क्षेत्रलाई सुधार गर्न पनि दुवै पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने, उर्जा क्षेत्रको सहकार्यलाई बढाउने, शैक्षिक, साँस्कृतिक सहकार्यलाई बढाउने लगायतका विषायमा छलफल भएकाे छ। क्षेत्रिय र विश्वव्यापी मञ्चमा पनि साझा चासोका विषयमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।
उच्चस्तरका भ्रमणको महत्वबारे छलफल भएको बैठकमा बंगलादेशले नेपालबाट छिटै उच्चस्तरीय भ्रमण हुने अपेक्षा गरेको थियो।
बंगलादेशी समकक्षीले मन्त्री ज्ञवालीको सम्मानमा दिवा भोजको पनि आयोजना गरेका थिए। बंगलादेशको थिंकट्याक्कमा दुई देशको सम्बन्धबारे प्रवचन दिएका मन्त्री ज्ञवालीले त्यहाँका राष्ट्रपति अब्दुल अमिदसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
बंगलादेशले सैदपुर विमानस्थल प्रयोग गर्न दिने
द्विपक्षीय वार्तापछि दुवै देशका मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनका क्रममा बंगलादेशका विदेशमन्त्रीले आफूहरु नेपाललाई सैदपुर विमानस्थल प्रयोग गर्न दिन सहमत भएको बताएका थिए।
दुई देशबीचको व्यापार र सम्पर्क बढाउन विमानस्थल प्रयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो। नेपालको प्रस्तावलाई आफूहरुले स्वीकार गर्दै विमानस्थल प्रयोग गर्न दिन सहमत भएको र अब त्यसलाई प्राविधिक तहमा टुंग्याइने बंगलादेशका विदेश मन्त्रीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।