काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ।
त्रिभुवन विश्व विद्यालयले विद्यार्थी संगठनको सहमतिमा विषेश कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि स्ववियू निर्वाचन स्थगित गरेको थियो। नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकार र त्रिविले षड्यन्त्रपूर्ण तवरले स्ववियू निर्वाचन स्थगित गरेको बताए।
भट्टराईले विज्ञप्तिमार्फत त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसँग कुनै छलफल नै नगरी स्ववियू निर्वाचन स्थागित गरेको बताएका छन्। उनले सरकार र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका अस्तित्व समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए।
भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली विद्यार्थी आन्दोलन एउटा ऐतिहासिक उपलब्धि स्वतन्त्र विद्यार्थी युनियनका स्थापनामा नेपाल विद्यार्थी संघका अग्रजहरुको रगत र पसिना जोडिएकाले नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व जोगाउनका लागि जस्तो सुकै मूल्य चुकाउन तयार छ।’ महामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएमा आफ्नो मनलाग्दी रोकिने डरले स्ववियूको अस्तित्वमाथि धावा बोल्ने प्रयासमा लागेको बताए।
उनले लोकतन्त्र र स्वतन्त्रताका मूल्यमान्यताहरुमाथि धावा बोल्दै आएको वर्तमान सरकार र त्रिभुवन विश्वविद्यालयको स्वार्थ मिलेका कारण विद्यार्थी संगठनलाई दोष दिएर स्ववियु निर्वाचन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालयको नेतृत्वलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भए आफ्नो मनोपोली रोकिने डर र सरकारलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदा प्रजातान्त्रिक अभ्यास भएर प्रजातन्त्र र लोकतन्त्रको बलियो संस्था बन्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हठात रोक्न तयार भएका छन्। सरकार र त्रिभुवन विश्व विद्यालयको यो हर्कतका विरुद्धमा सम्पूर्ण लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द हुन समेत आग्रह गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।