काठमाडौं- नेपाल निजामती कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ।
फागुन २ र ३ गते भक्तपुरमा बसेको सातौं केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
उनले संघीय निजामती कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताए।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ति जनाए।
ट्रेड युनियन खारेज गर्ने गरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत बताए।
अध्यक्ष देवकोटाले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।