काठमाडौं- वरिष्ठ मुटु रोग विशेषज्ञ डा अरुण सायमीले प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको रक्तनलीमा अवरोध नदेखिएको बताएका छन्।
नियिमत स्वास्थ्य जाँचका क्रममा मंगलबार प्रधानमन्त्री ओलीको मुटुको रक्तनलीको अवस्था पत्ता लगाउन कोरोनरी एन्जिओग्राफी गरिएको थियो।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो।
डा सायमीका अनुसार एन्जिओग्राफीमा सबै रिपोर्ट सामान्य आएका कारण अस्पतालबाट आज मंगलबार नै डिस्चार्ज गर्ने जानकारी दिए।
‘सबै रिपोर्ट नर्मल छ,’ उनले भने, ‘मुटुको रक्तनलीको अवस्था हेर्न एन्जिओग्राफी गरिएको हो। त्यसमा कुनै अवरोध देखिएको छैन। त्यसकारण उहाँ आज नै डिस्चार्ज भएर बालुवाटार जानुहुन्छ।’
मुटुलाई रक्तसञ्चार गर्ने रक्तनलीमा अवरोध छ कि छैन भनेर पत्ता लगाउन मुटुको रक्तनलीमा विशेष किसिमको तरल पदार्थ पठाएर जाँच गर्ने विधिलाई कोरोनरी एन्जिओग्राफी भनिन्छ।
मुटुको रक्तनलीमा ५० प्रतिशतभन्दा कमको अवरोधलाई साधारण रोगका रुपमा मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।