काठमाडौं- मंगलबार दिउँसो नेपाली सेनाले ‘सेना दिवस'को तयारीका लागि भन्दै काठमाडौंको टुडिखेलमा अभ्यास कार्यक्रम गर्यो। हरेक वर्ष शिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको नेपाली सेनाले कार्यक्रमका लागि तयारी कार्यक्रम गरेको हो। तर, सेनाका कारण देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भयो।
सेनाको अभ्यासका कारण झन्डै साढे २ घण्टा विमानस्थल ठप्पप्रायः भयो। विमानस्थल ठप्प मात्रै होइन, विभिन्न गन्तव्यबाट काठमाडौंमा अवतरण गर्न उडान भरेर आएका जहाज आकाशमै फन्को मार्न बाध्य भए। कतिपय आन्तरिक उडान नै बन्द भए। सेनाले पनि आफूसँगै भएका सबै जहाज काठमाडौंको आकाशमा उडाएर अभ्यास गरेको थियो। अभ्यासका लागि सेनाले विमानस्थलसँग सहकार्य गरेको भएपनि उक्त समय अभ्यासका लागि उपयुक्त नरहेको हवाई विज्ञहरू बताउँछन्।
विमानस्थल कार्यालयले पनि जहाज उडान तथा अवतरणमा नै समस्या आउने गरी सेनाको अभ्यासका लागि काम गर्न दिएको रहस्य खुल्लको छ। दुई घण्टासम्म विमानस्थलको उडान प्रभावित हुँदा पनि विमानस्थल कार्यालयले भने नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्चपदस्थ कर्मचारीलाई कुनै सूचना नगराएको पुष्टिसमेत भएको छ।
करिब २ घण्टा विमानस्थल ठप्प भएपछि प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई के कारण विमानस्थल ठप्प भएको हो भनी प्रश्न सोध्दा उनले अनविज्ञता प्रकट गरे।
विमानस्थल प्रवक्ता देवचन्द्रलाल कर्ण भने सेनाको अभ्यासका लागि १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म नोटाम जारी गरेको बताए। तर, विमानस्थल कार्यालयले नोटाम जारी नगरी 'नेभिगेसन वार्निङ' क्षेत्र मात्रै तोकेको थियो। विमानस्थलले जुन क्षेत्रबाट हुने उडानलाई सचेत गराएको थियो, त्यो नै सबैभन्दा आवश्यक र महत्वपूर्ण क्षेत्र थियो। यसका कारण करिब २ घण्टा विमानस्थलको उडान तथा अवतरण प्रभावित हुन पुगेको थियो।
प्राधिकरणका एक पूर्व महानिर्देशकले विमानस्थल कार्यालयले सेनाका लागि दबाबमा परेका कारण उडान तथा अवतरणमा प्रभाव पर्ने गरी समय दिएको हुन सक्ने उल्लेख गरे। उनले सेनाको अभ्यासका लागि विमानस्थलका उडान तथा अवतरण नै ठप्प हुने गरी समय दिइनु विवेकहीन भएको उल्लेख गरे।
‘हरेक वर्ष सेनाले शिवरात्रीको आसपासमा अभ्यासका लागि समय माग्ने गरेको छ,' स्रोतले भन्यो, ‘विमानस्थलबाट उडान तथा अवतरणमा कम लोड हुने समय र केही ठाउँमा मात्रै सीमित रहने गरी समय दिने चलन थियो। तर, आज त पूरै काठमाडौंको आकाश सेनाको कब्जामा हुने गरी अनुमति दिइएको रहेछ। यो सरासर गलत भएको छ।’
विमानस्थल कार्यालयले सेनालाई अनुमति दिँदा धोबीखोला क्षेत्रमा ५ हजार फिटभन्दा कम, बनेपा क्षेत्रमा ५ हजार ५ सय, सीतापाइला क्षेत्रमा ५ हजार फिट, बालाजु क्षेत्रमा ५ हजारदेखि १० हजार फिटसम्म नेभिगेसन वार्निङको क्षेत्र तोकिएको थियो। विमानस्थलमा उडान तथा अवतरणका लागि बालाजु क्षेत्रमा सेनालाई अनुमति दिइएको आकाश नै बाधक थियो।
कसरी भयो कब्जा?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हकमा 'जिरो २' रनवेबाट ‘आइएफआर टेक अफ’ गर्न सबै जहाजले 'लेफ्ट टर्न' गर्नुपर्छ। कोटेश्वरतिरबाट जहाज उडान गर्दा पनि 'लेफ्ट टर्न' गरेर बालाजुतर्फ नै जाने हो। जसका कारण २ घण्टा नोटाम जारी भएपछि बालाजुमाथिको ५ हजार फिटदेखि १० हजार ५ सय फिटसम्मका लागि नेभिगेसन वार्निङ रहेको छ। उक्त अवस्थामा बालाजु क्षेत्र भएर जहाज उडान तथा अवतरण हुन सक्ने अवस्था नै बन्दैन।
अधिकांश आन्तरिक र अन्तर्राष्ट्रिय उडानतर्फका जहाज 'जिरो २' बाट उडान भर्ने गरेका छन्। साथै आइएफआरमा त अधिकांश जहाज 'जिरो २' बाट नै ल्यान्ड गर्छन्। आइएफआरमा 'जिरो २' बाट ल्यान्ड गर्नुपर्ने जहाज '२ जिरो'बाट गर्नु पर्दा एक घण्टामा मुस्किलले बढीमा १० वटाभन्दा जहाज ल्यान्ड हुन सक्दैनन्।
सेनालाई दिइएको समय एकदमै व्यस्त समय हो। सेनाका कारण ४ क्षेत्रबाट आउने जाउने र जाने उडान प्रभावित हुने भनिएपनि सबैभन्दा ठूलो क्षेत्र बालाजु हो। व्यस्त समयमा बालाजु क्षेत्र नै बन्द हुने गरी सेनालाई अनुमति दिनु भनेको आकाश सेनाको कब्जामा हुनु हो। यसकारण काठमाडौं आउने जहाज सिमरा क्षेत्रमा नै होल्ड गर्नुपरेको छ।
नेपाली सेनालाई अनुमति दिइएको अन्य क्षेत्रको हकमा भने ५ हजार फिट कम भनिएको छ। ती क्षेत्रबाट ६ हजार फिटबाट पनि आएर ल्यान्ड गर्न सक्छन्। पश्चिमतिरबाट आउने जहाजलाई बालाजु क्षेत्रबाट ल्याउन नसक्नु नै समस्या हो। 'जिरो २'बाट ल्यान्ड गर्ने जहाज पनि पश्चिततिर गएर नै आउने हुन्। बालाजुका कारण पश्चिम तिरबाट आउने जहाज र पोखरातिरबाट आउने जहाजका लागि बन्द नै भयो। बालजु क्षेत्र बन्द नभएको भए '२ जिरो' रनवेबाट ल्यान्ड गर्न सकिन्थ्यो। त्यो बाटो पनि बन्द गरेर सेनालाई दिइयो। सेनालाई बालाजु एरिया दिनु नै गलत हो। यसकारण काठमाडौंको आकाश नै सेनाको कब्जामा गएको हो। सेनालाई बालाजु क्षेत्र ब्लक हुने गरी दिनु नै विमानस्थल कार्यालयको कमजोरी हो।
'सेनाले बालाजु क्षेत्र प्रयोग नगरेको भए यो समस्या नै आउने थिएन। विमानस्थलले त्यहाँबाट दिनु पनि हुँदैनथ्यो। विकल्प खोज्न भन्नु पर्दथ्यो,' प्राधिकरणका एक पूर्व महानिर्देशकले भने। (कभर तस्बिर : नेपाल लाइभ अर्काइभबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।