रोल्पा- सरकारी प्रतिबन्धपछि नेता कार्यकर्ता धमाधम पक्राउ परेसँगै भूमिगत गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थवाङमा भने खुला रुपमा साताव्यापी कार्यक्रम संचालन गरिरहेको छ।
जनयुद्ध दिवसको अवसर पारेर फाल्गुन १ गते उद्घाटन गरिएको उक्त दिवस फाल्गुन ७ गतेसम्म चल्ने बताइएको छ।
सशस्त्र युद्ध सुरु गरिएको दिनको सम्झनास्वरुप सो पार्टीको थवाङ गाउँ कमिटीले फाल्गुन १ लाई उत्सवको रुपमा मनाउँदै आएको छ। ‘जनयुद्धकालीन समयदेखि नै फाल्गुन १ लाई थवाङीले विशेष पर्वको रुपमा मनाउदै आएका छन्‚’ स्थानीय एक युवाले भने।
थवाङले मनाउने विभिन्न चाडपर्वको रुपमा जनयुद्ध पनि समावेश गरिएको छ ती युवाले भने। अब जनयुद्ध दिवस थवाङीहरुको संस्कार बनिसक्यो ती युवाले भने।
तत्कालीन एकीकृत नेकपा माओवादीमा आएको विभाजनपछि थवाङको पार्टीमा पनि विभाजन आएको थियो। ‘थवाङमा दश वर्षे जनयुद्धको विरासत हामीले लिएका छौं‚’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक स्थानीय नेताले भने।
दिवसको साताव्यापी कार्यक्रमको रुपमा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ।
पुरुष र महिला भलिबल, कपर्दी, ब्याडमिन्टन खेलका साथै प्रतियोगितात्मक दोहोरी गीतको समेत आयोजना गरिएको छ।
मुख्य खेलको रुपमा समावेश गरिएको भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः ५० , ३० र २० हजार नगद पुरस्कार‚ मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।
हँसिया हथौडा अंकित २५ वटा राता झण्डा फरफराइरहेको उक्त कार्यक्रमले जनयुद्धकालको झल्को दिने गरेको छ। कार्यक्रम स्थलमा हँसिया हथौडा अंकित पोष्टर र ब्यानरले सजिसजाउ गरिएको छ।
तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र युद्धमा साविक थवाङ गाविसवाट २३ जनाको मृत्यु भएको थियो। तत्कालीन सत्ताको विरुद्धमा गतिविधि गरेको भन्दै २०३८ सालमा थवाङले मेजर अपरेशन व्यहोरिसकेको छ।
माओवादी सशस्त्र द्वन्द्वताका पनि बाक्लो बस्ती भएको थवाङमा तत्कालीन राज्य पक्षबाट आगो लगाएर सयौं घर जलाइएको थियो।
पुराना कम्युनिष्ट नेता पूर्णबहादुर रोका गोरेको अध्यक्षतामा कार्यक्रम संचालन भइरहेको छ। पुराना र ईमान्दार नेता मानिने गोरेलाई सो पार्टीले केन्द्रीय सल्लाहकारको भूमिकामा राखेको बताइन्छ।
गोरेको बहिनी ललि रोकालाई युद्धकालीन समयमा राज्य पक्षले हत्या गरेको थियो।
थवाङको मुख्य नेतृत्वको रुपमा रहेका सन्तोष बुढा मगर सो पार्टीको स्थायी समिति सदस्य तथा केन्द्रीय जनसरकार प्रमुखको भूमिकामा छन्।
सो पार्टीको जिल्ला इन्चार्ज रहेकै बेला रोल्पाको लुंग्री गाउँपालिका-१ बाट गिरफ्तारीमा परेका जयप्रकाश रोका प्रताप पनि थवाङबासी हुन्। युवा नेताको रुपमा स्थापित हितप्रसाद रोका र अमित घर्तीलाई दाङको राजापुरबाट पक्राउ गरिएको थियो। जयप्रकाश, हितप्रसाद र अमित अझै जेलमै जीवन काटिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।