काठमाडौं– संवैधानिक राजतन्त्रको मुद्दा उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीलाई केही दरबारीयाहरुले दुख दिएको दाबी गरे।
दरबारसँग उनको दुरी बढेको संकेत आइरहेको बेला बुटवल पुगेर उनले आफ्नो पार्टीलाई दुःख दिन दरबार वरिपरिका मान्छेहरु लागेको बताए।
उनले राप्रपालाई कमजोर बनाउन दरबार वरिपरिका व्यक्तिहरु लागेको दाबी गरे पनि को-को लागेका हुन् त्यो भने खुलाएनन्। उनले यस्ता प्रयासले राजा र राजसंस्थासँग राप्रपाको दुरी नघट्ने दाबी भने गरे।
दरबारसँग सम्बन्ध बिग्रिएकै हो?
स्रोतका अनुसार राजतन्त्रको नाममा राजनीति गरे पनि राजसंस्थाको पक्षमा केही काम नगरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह थापासँग रिसाएका छन्। लामो समयदेखि थापा र शाहको भेट समेत भएको छैन।पूर्व पञ्चहरु एक नभएसम्म राजतन्त्रको पक्षमा सकारात्मक माहोल बन्न नसक्ने भन्दै राप्रपलाई एकिकृत बनाए पनि थापाको व्यक्तिगत महत्वाकांक्षाकले सम्भव हुन नसकेको दरबारीयाको निष्कर्ष छ।
दोस्रो संविधान सभा निर्वाचनमा तेस्रो शक्तिको रुपमा संसदमा पुगेपछि राजसंस्थाको पक्षमा सकारात्मक माहोल बनाउनुको साटो सरकारमा जान हतारिएको भन्दै दरबार निकटहरु उनीसँग रिसाएको स्रोतले बतायो। गत संसदिय निर्वाचनमा राप्रपामा त्यसको नकारात्मक प्रभाव समेत देखियो।
'थापाजीको रणनीति दरबारको नाम उपयोग गरेर व्यक्तिगल महत्वाकांक्षा पुरा गर्नेमात्र देखियो,' स्रोतले भन्यो 'त्यसैले अहिले दरबार राप्रपाको भर पर्नेभन्दा आफैं सक्रिय हुने निष्कर्षमा पुगिसक्यो।'
पूर्व राजा आफैं आम नागरिकसँग नभिजेसम्म राजसंस्थाबारेको नकारात्मक धारणा नहट्ने भन्दै ज्ञानेन्द्र आफैं क्रियशील भएका हुन्। ज्ञानेन्द्र अहिले श्रीमती कोमलसँग भारत भ्रमणमा छन्।
पार्टी एकको अभ्यास
लामो अभ्यासपछि अलग बसेका राप्रपाका नेताहरु एकै थलोमा आएका थिए। तर संयुक्त बसाइ ८ महिना पनि कट्न पाएन। थापाले राप्रपा नाममात्र कब्जा गरे। लोहनीले राप्रपा राष्ट्रवादी गठन गरे भने राणाले राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए। पार्टी विभाजनको प्रभाव निर्वाचनमा देखियो। तेस्रो शक्ति बनेको थापाको राप्रपाले राष्ट्रिय दलको मान्यता समेत पाएन। संसदमा राजेन्द्र लिङ्देलमात्र पुगे। राणा र लोहनी अहिले राप्रपा संयुक्तको नाममा एकिकृत भएका छन्।
अहिले दरबारीया टाढा हुन थालेपछि थापाले पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीको नेतृत्वको राप्रपा संयुक्तसँग पार्टी एकिकरणको प्रयास गरिरहेको छन्। राप्रपा संयुक्त पनि एकिकरणप्रति सकारात्मकै भए पनि नेतृत्वको विवाद अनि थापाको व्यक्तिगत महत्वाकांक्षी व्यवहारले सहमति भने हुन सकेको छैन। थापाले मंगलबार ‘पार्टी एकीकरणमा सबै कुरा मिलेको र आफू‚ राणा र लोहनीको फोन कुरेर बसेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।