भैरहवा– रुपन्देहीमा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ। लुम्बिनी हुलाकी सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका ४ स्थित वनकसियामा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका २ का ६० वर्षीय रमेश लोध रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले बताए। मोटरसाइकललाई ठक्कर दिने टिपर चालक फरार रहेको र खोजी भइरहेको खत्रीले जानकारी दिए। मृतक लोधको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।