बेइजिङ- कोरोना भाइरसको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ।
गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको भनिएको कोविड-१९ नामक भाइरसका कारण चीनमा मात्र एक हजार ९ सयको मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ। उनलाई बचाउन सक्दो प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ।
उनी कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन्। यही प्राणघातक जीवाणुका कारण वुहानमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७ सय १६ जना सङ्क्रमित भएका छन्।
यसअघि कोरोना भाइरसका बारेमा पहिले जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो।
वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।