काठमाडौं- वातावरणीय प्रभाव मूल्यांकन (इआइए) उल्लघंन गरेको भन्दै वन तथा वातावरण मन्त्रालयले २० लाख जरिवाना गराएको चन्द्रागिरि हिल्समा परराष्ट्र मन्त्रालयले ‘सगरमाथा संवाद’ गर्ने भएको छ।
वातावरणीय परिवर्तनलाई प्राथमिकतामा राखेर नेपालले पहिलो पटक आयोजना गर्न लागेको विश्वव्यापी बहस 'संगरमाथा संवाद'को उद्घाटनबाहेकका सबै कार्यक्रम चन्द्रागिरीमै हुने भएका छन्।
परराष्ट्र मन्त्रालय अन्तर्गतको सगरमाथा संवाद सचिवालयको वेबसाइटमा ‘भेन्यू’बारे राखिएको जानकारीमा संवादको उद्घाटन काठमाडौंको सोल्टी होटलेमा हुने र बाँकी सबै कार्यक्रम चन्द्रागिरी हिल्स रिसोर्टमा हुने उल्लेख गरिएको छ।
व्यवसायी चन्द्र ढकालको चन्द्रागिरी हिल्स प्रालिले रिसोर्टका संरचना बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको भन्दै वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ जरिवाना गरेको थियो। २० लाख रुपैयाँ जरिवाना तिर्दै अवैध संरचनालाई वैध बनाउन ढकालले पूरक वातावरण प्रभाव मूल्यांकन (अपग्रेडेड इआए) का लागि पर्यटन विभागमा निवेदन दिएका छन्।
जलवायु परिवर्तनलाई विषय बनाएर गर्न लागिएको सगरमाथा संवाद चैत २० देखि २२ गतेसम्म हुँदैछ।
‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ नाम दिइएको सगरमाथा संवादको पहिलो संस्करणमा सरकारले २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको छ।
जसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ प्रधानमन्त्री ली खछियाङ तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म छन्। संवादमा विज्ञसहित करिब एक सय ५० अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरिएको छ। सगरमाथा संवादको तयारीस्वरुप २६ माघमा राष्ट्रिय संवाद गरिएको थियो।
संवादमा ‘अनुकूलन,लचिलोपन र जीविका’, ‘हरित अर्थतन्त्र र उर्जा’लगायत दर्जन सत्रमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।