बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसिसीबारे सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन्।
अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको स्पष्ट पार्दै अध्यक्ष थापाले सरकारले एमसिसीबारे आम नागरिकलाई प्रष्ट पार्नु पर्नेमा जोड दिए।
राप्रपा प्रदेश ५ ले मंगलबार बुटवलमा राखेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले एमसिसीप्रति बाहिर आएका आंशकाले जनतामा भ्रम सृजना भएको उल्लेख गर्दै त्यसप्रति सरकारको स्पष्ट धारणा आउन आवश्यक रहेको बताए।
‘एमसिसी परियोजना नेपालका लागि निकै आवश्यक छ। प्रधानमन्त्रीले संसदबाट पारित हुन्छ पनि भन्नुभएको छ। यसलाई व्यापक छलफल गरेर पारित गर्नु पर्छ,’ थापाले भने।
उनले सरकारपक्षीय नेताहरुले नै एमसिसीको विरोध गर्दा जनतामा आशंका र भ्रम सृजना भएको अध्यक्ष थापाको भनाइ छ।
अमेरिकी सहयोगको बारेमा कसैले पनि विवाद गर्न आवश्यक नभएको उनले दाबी गरे। उनले बरु दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे। उनले भने, ‘अहिलेको सरकारप्रति जनताले ठूलो आशा थियो। तर सरकारले जनतालाई सकारात्मक अनुभुति दिएन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर सरकार ढाल्ने षडयन्त्र भएको छ भनेर बोलेको कुराले नेपाली राजनीतिमा तरंग ल्याएको बताउदै अध्यक्ष थापाले कस्तो, कहाँबाट षडयन्त्र भएको हो प्रधानमन्त्रीले स्पष्ट खुलाउनुपर्ने बताए।
उनले कांग्रेससँगको सहकार्यमा इमान्दारिता नदेखिएको उल्लेख गर्दै सोहीकारण गत निर्वाचनमा आफ्नो पार्टीले नराम्रो पराजय भोग्नुपरेको बताए।
अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र राजतन्त्रको विषयमा विगत देखिनै स्पष्ट रहेको बताउँदै राजा र राजसंस्थालाई विवादमा तान्न नहुने बताए। उनले आउँदो निर्वाचनमा पार्टी तेस्रो शक्तिका रुपमा आउने दावी गरे। उनले पार्टीको आउँदो जेठमा महाधिवेशन पनि निर्वाचनलाई लक्षित गरी ९ महिना अगाडि नैं गर्न लागिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।