काठमाडौं–नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट भएको छ।
गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्रले निफमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको हो। राष्ट्रिय सभागृहमा ५ दिनसम्म चलेको महोत्सवमा ४० वटा देशका ८० फिल्म प्रतिस्पर्धामा थिए।
वृत्तचित्र तथा लघु चलचित्र विधाकी निर्णायक मण्डल प्रमुख श्रीलंकन चलचित्रकर्मी अनोमा राजाकरुनाले निर्देशक पाण्डेलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गरिन्। निर्णायक मण्डलका सदस्य एवं स्वीजरल्याण्डको विश्वप्रसिद्ध लोकार्ने चलचित्र महोत्सवका ‘ओपन डोर’ संयोजकका थिबाउट बाराकले ‘सहायक श्रीमान’ ले नेपालमा लामो समयदेखि विद्यमान बहुपति प्रथालाई कलात्मक रुपमा पर्दामा उतार्न सफल भएको बताए।
३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।