काठमाडौं- तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाल पनोरमाको फिचरतर्फ फिल्म 'बुलबुल’ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड पाएको छ।
महेत्सवमा उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो।
स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्। मुकुन भुसाल उत्कृष्ट अभिनेता जुरी अवार्ड (पुरुष) भए भने उत्कृष्ट अभिनेत्री जुरी अवार्ड (महिला) लक्ष्मी बर्देवाले पाइन्।
फिल्म ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट फिल्मको जुरी अवार्ड पाएको छ।
गोपीबाटै बिपिन कार्की उत्कृष्ट अभिनेता र शैलेन्द्र डि कार्की उत्कृष्ट छायाँकार भए।
महोत्सवको सबैभन्दा ठूलो पुरस्कार उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर (गौतम बुद्ध अवार्ड) टर्कीको ‘ट्रयाप’ले पायो। जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्याे।
नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पायो। अन्तर्राष्ट्रिय सर्ट फिल्मतर्फको जुरी अवार्ड युक्रेनको ‘आना’ले पाएको थियो। नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविनकुमार राउत निर्देशित ‘कलम’ले पायो। सर्ट फिल्मतर्फको उत्कृष्ट निर्देशकको अवार्ड प्रविनले नै पाए। सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ले पाएको थियो।
गणेश पाण्डे निर्देशित डकुमेन्ट्री ‘को-हस्बेन्ड’ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड पाएको छ। उत्कृष्ट एनिमेटेड सर्ट विधाको अवार्ड चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो। अन्तर्राष्ट्रिय सर्ट फिल्म विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट भयो।
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।