काठमाडौं– भारतकाे दिल्लीस्थित एक स्थानीय अदालतले निर्भया बलात्कार र हत्या प्रकरणमा चारजना दोषीहरुका विरुद्ध तेस्रो पटक डेथ वारेन्ट जारी गरेको छ। अदालतले सबै दोषीहरुलाई ३ मार्च बिहान ५ बजे फाँसी दिने निश्चित गरेको छ।
पटियाला हाउस कोर्टका एडिशनल सेशन न्यायाधीशले चार दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहका लागि सोमबार डेथ वारेन्ट जारी गरेका हुन्। उनीहरुले सर्वोच्चसम्म दायर गरेको निवेदन खारेज भएकाले पटियालाकोटले नयाँ फाँसीको समय तय गरेको हो।
अहिले कुनै पनि आरोपितको निवेदन कुनै पनि अदालतमा विचराधिन नभएको भन्दै अदालतले नयाँ मिति तय गरेको हो। आरोपी मध्ये विनय शर्मा तिहाड जेलमा भाेक हड्तालमा रहेका छन्।
उनीमाथि जेलभित्र आक्रमण भएपछि उनी भोक अड्तालमा बसेका हुन्। उनको टाउँकामा चोट लागेको प्रहरीले जनाएको छ। विनयका कानुन व्यवसायीले उनी गम्भीर प्रकारको मानसिक बिरामी भएकाले अहिले नै फाँसी दिन नमिल्ने जिकिर अदालतमा गरेका थिए। तर अदालतले उनको आग्रहलाई अस्वीकार गदै फाँसीको नयाँ मिति तय गर्ने आदेश गरेको हो।
अदालतले उनको ख्याल गर्न पनि तिहाड जेलका नाममा आदेश गरेको छ। यसभन्दा पहिले १७ जनवरीमा ट्रायल कोर्टले १ फेब्रुअरीमा तय गरेको थियो। फेरि ३१ जनवरीमा ट्रायल कोर्टले त्यसलाई रोकेको थियो। अदालतले आरोपितले राष्ट्रपति र अन्य स्थानमा निवेदन दायर गर्न बाँकी रहेको भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।