काठमाडौं- जबरजस्ती करणीको आरोप खेपी अदालतबाट सफाइ पाएर रिहा भएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताको रक्षा सदैव आफ्नो प्राथमिकतामा परेको बताएका छन्। सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका महराले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
'देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ,' उनले भनेका छन्, 'नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।'
उनले आफूप्रति न्याय गरेको भन्दै अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गरेका छन्। यसका साथै आफ्नो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति समेत आभार प्रकट गरेका छन्।
'म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु,' रिहा भएपछि महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महरा दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्। अदालतमा मुद्दा परेसँगै निलम्बनमा परेको सांसद् पदसमेत सोमबारबाटै फुकुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।