काठमाडौं- डिल्लीबजार कारागार बसेको १ सय ३ दिनपछि पूर्व सभामुख कृष्णबहादुर महरा रिहा भएका छन्।
संसद सचिवायलमा कार्यरत एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि कात्तिक १८ गते डिल्लीबजार कारागार चलान भएका महराले आज सोमबार अन्तत निर्दोष सावित भएपछि जेलमुक्त भएका छन्।
महराको १ सय ३ दिनको जेल बसाई कस्तो थियो भन्नेबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ।
डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलका अनुसार महरा कारागारका 'क' ब्लकमा बसेका थिए। उक्त ब्लकमा ४ सय ५० जना कैदीबन्दी छन्।
पूर्वसभामुख भए पनि महरा भने जेलमा रहँदा अन्य सामान्य कैदीसरह नै बसेका थिए।
जेलर पोखरेलले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘उहाँ एकदमै पारिवार जसरी नै जेलमा बस्नु भयो। जेल प्रशासनलाई पनि एकदमै सहयोग गर्नुभयो। भिआइपी कैदी हुँ भन्ने घमण्ड उहाँमा देखिएन।’
'क' ब्लकमा बसेका महरा ३४३ नम्बरको कैदीबन्दीको सूचीमा उनको नाम थियो।
जेलमा रहँदा उनका नजिकका साथी भनेका सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइराला र प्रहरीका पूर्व आइजीपी रमेश चन्द ठकुरी थिए। ठकुरी सुडान घोटालामा र कोइराला श्रीमती हत्यामा पुष्टि भएकाले जेलजीवन बिताइरहेका छन्।
बिदाई हुने दिन (सोमबार) समेत उनीहरूले महरालाई फूलमाला र खादा लगाएर बिदा गरेका थिए। जसकारण पनि महराका उनीहरू घनिष्ठ साथी रहेको पुष्टि हुन्छ।
हरेक दिन बिहान ७ बजे उठ्नु पर्ने र बेलुका १० बजे सुतिसक्नु पर्ने जेलको नियम भए पनि महरा भने बिहान ५ बजे नै ब्युझने गरेको जेलर पोखरेलले नेपाल लाइभलाई जानकारी दिए। बिहानभर उनी पत्रपत्रिका र किताब पढ्न व्यस्त हुन्थे। जेलर पोखरेलले भने, ‘बिहान उहाँ पढ्नु हुन्थ्यो। दिउँसोतिर भने भेटघाट मै व्यस्त हुनुहुन्थ्यो। उहाँलाई भेट्न दैनिक ७/८ जना मान्छे आउँथे।’
अन्य कैदीबन्दीहरूले भने चेस, क्यारेम्बोर्डलगायत खेले पनि महराले भने कारागारमा केही पनि खेलेनन्। महरासँगै निलम्बित सांसद् रेशम चौधरी, डीबी कार्की शम्भू भारती पनि जेलमा नै थिए।
हप्ताको दुई दिन भात खाने गरेका महराले अन्य दिन भने कारागारकै मेसमा रोटी खाने गरेका थिए। उनी सुगरका बिरामी भएकाले खानपानमा विशेष ध्यान दिने गर्थे।
जेलमा बसुन्जेल महराले धेरै सहयोग गरेको बताउँदै जेलर पोखरेले भने, ‘उहाँ एकदमै अनुशासित हुनुहुन्थ्यो। कुनै बाधा अवरोध गर्नु भएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।