काठमाडौं– एआइजीको श्रीमती हुँ भन्दै सर्वसाधारणलाई भ्रममा पारी ठगी गर्ने महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। तनुहँ व्यास घर भएकी ४० वर्षीया यमुना खड्कासहित चार जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
उनीहरुले सेना, प्रहरी तथा गुप्तचरमा जागिर लगाइदिने प्रहरीलाई शान्ति मिसनमा पठाउने तथा युरोपमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। यमुनाले आफू गुप्तचर विभागका एआइजीकी श्रीमती भएको र गुप्तचरमा जागिर लगाइदिन सक्ने भन्दै ठगी गरेकी थिइन्।
पक्राउ पर्नेहरुमा यमुनासहित लमजुङ चन्द्रश्वरका मोहन दुरा, लमजुङ दोरदीका पशुपति अधिकारी र कास्की रुपा गाउँपालिकाका रमेश कुमाल छन्।
दुराले आफू नेपाली सेनाका जर्नेलका पिए भएको भन्दै ठगी गरेको डिएसपी मोहन थापाले बताए।
उनीहरुले अनुसन्धान विभागको असईका लागि २ लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेनामा पठाउन २ लाख तथा पोल्यान्ड लगायत युरोपेलका देशहरुमा पठाउन १५ लाख रुपैयाँको रेट तोकेका थिए। विभिन्न व्यक्तिसँग उनीहरुले एक करोड १५ लाख रुपैयाँ उठाइसकेको प्रहरीले जनाएको छ।
उनीहरु विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।