काठमाडौं- चेक रिपब्लिक डेभलपमेन्ट को-अपरेसनले काभ्रेको नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एम्बुलेन्स, विभिन्न मेडिकल उपकरण र एउटा मालबाहक गाडी सहयोग गरेको छ।
नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक कार्यक्रमबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरेका हुन्।
एम्बुलेन्समा आपत्कालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणसमेत जडान गरिएको जानकारी गुम्बाले दिएको छ।
चेक रिपब्लिकले स्पाइन बोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आइभिलाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथलगायतका सामग्री हस्तान्तरण गरेको हो।
सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको समेत उपस्थिति थियो।
त्यसैगरी, धाग्पो शिडरब लिङ फाउन्डेसनका प्रतिनिधि लेक्शे घलले सहयोग र साझेदारीका लागि चेक रिपब्लिकका जनता, चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसन र चिकित्सकीय क्षेत्रमा काम गर्ने चेक संस्था मेडेभ्याकप्रति कृतज्ञता प्रकट गरे।
'नाला क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गरिनेछ,’ उनले भने।
राजधानीबाट खासै टाढा नभएपनि यहाँबाट सार्वजनिक यातायातमा सुविधासम्पन्न अस्पतालमा पुग्न करिब दुई घन्टा लाग्ने भएकाले स्थानीयले एम्बुलेन्सको माग गर्दै आएका थिए।
चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पुर्याउन सहयोग गर्ने अपेक्षा गरेको छ।
नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ।
संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।