काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताधारी दल नेकपाले दबाबमार्फत् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपयोग गरेको आरोप लगाएको छ।
प्रतिपक्षको नजरमा सरकारको २ वर्षको कामको मुल्यांकन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले' नेकपाको सरकारले यस्तो संवैधानिक संस्थालाई अवांछित दवाव मार्फत पूर्वाग्रहपूर्ण ढंगले उपयोग गरेको' आरोप लगाएका हुन्।
'कांग्रेसले अख्तियारलाई एक शक्तिशाली संवैधानिक आयोग बनाउने कर्म गरिरहँदा यसलाई सरकारको दवाव र प्रभावबाट मुक्त रहेर निर्वाध ढंगले कार्य गर्न सक्ने संस्थाका रुपमा परिकल्पना गरेको थियो,' उनले भने' तर नेकपाको सरकारले यस्तो संवैधानिक संस्थालाई अवांछित दवाव मार्फत पूर्वाग्रहपूर्ण ढंगले उपयोग गर्नु सदाचारयुक्त नेपालको भविष्यका लागि सुखद संकेत मान्न सकिन्न।'
उनले पत्रकार सम्मेलनमा ललिता निवासको जग्गा सम्बन्धी विषय समेत उठाएका थिए। ललिता निवासको जग्गा सम्बन्धी विषयमा आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त रहेको उनको दाबी छ।
'आयोगले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ,' उनले दावी गरे' यद्यपि उहाँले कानूनी रुपमा सामना गर्नु हुने र पार्टीले प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गरिसकेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।