काठमाडौं– बंगलादेशका सेना प्रमुखले नेपालको ५ दिने औपचारिक भ्रमणमा पुरा गरेर स्वेदश फर्किएको एक साता नबित्दै बेलायती सेनाप्रमुख नेपाल आएका छन्।
बेलायती सेनाका सेनाध्यक्ष मार्क कार्लेटोन स्मिथ एक साता लामो भ्रमणका लागि शनिबार काठमाडौं आएका हुन्।
बंगलादेशी सेना प्रमुख अजिज अहमदलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै नेपाली सेनाका मेजर जनरल निर्मलकुमार थापा। अहमदले फेब्रुअरी ७ देखि ११ सम्म नेपाल भ्रमण गरेका थिए।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरदकुमार गिरीले स्वागत गरेका थिए।
साता लामो बसाइ
नेपाली सेनका अनुसार सातदिने भ्रमणका क्रममा बेलायती सेना प्रमुख स्मिथले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
साथै उनले आइतबार टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा 'सम्मान गारत' अर्पण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका दौरान उनले सेनाको पोखरास्थित पश्चिम पृतना, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही महत्वपूर्ण पर्यटकीय स्थलको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
सात दिने औपचारिक भ्रमण पुरा गरी उनी फागुन ९ गते स्वदेश फिर्ता फुने छन्।
भारत र इजरायलका सेना प्रमुख पनि आउँदै
बंगलादेशका सेना प्रमुख अहमेदले नेपाल बसाइँको क्रममा राष्ट्रपतिदेखि प्राधनसेनापतिसम्मलाई भेटेका थिए।
यसअघि नेपाली सेनाका प्रधानसेनापति थापाले गत पुस अन्तिम साता बंगलादेशको तीन दिने औपचारिक भ्रमण गरेका थिए।
यसैबीच भारत र इजरायलका सेना प्रमुख पनि चाँडै नेपाल भ्रमणमा आउने भएका छन्।
भारतीय स्थल सेनाको सेनाध्यक्ष मानोज मुकुन्द्र नरभानेलाई अनुकुल समयमा नेपाल भ्रमणका लागि मन्त्री परिषदले स्वीकृति दिइसकेको छ।
हालै भारतको नयाँ सेना प्रमुखको जिम्मेवारी सम्हालेका नरभाने नेपाली सेनाको मानार्थ सेनापतिको जिम्मेवारी सम्हाल्न आउने छन्। नेपाल र भारतले एकअर्काका देशका सेना प्रमुखलाई मानार्थ सेनाप्रमुख मान्ने चलन छ।
त्यस्तै इजरायलका सेना प्रमुख अभिभ कोचभी पनि नेपाल आउने भएका छन्। उनको भ्रमणलाई पनि सरकारले स्वीकृत गरि सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।