काठमाडौं–उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले भारतले अतिmक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्।
समाचार संस्था राससका अनुसार दार्चुला उद्योग वाणिज्य संघले दार्चुलामा आइतबार आयोजना गरेको महोत्सवको उद्घाटनपछि उनी त्यस क्षेत्रमा जान लागेका हुन्।
भारत सरकारले २ नोभेम्वर २०१९ मा नेपाली भूभाग आफ्नोमा पारेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेपछि कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणको मुद्दा पुनः सतहमा आएको छ।
त्यसयता नेपाल सरकारका कुनै पनि उच्च अधिकारी कालापानी क्षेत्रमा पुगेका छैनन्। मन्त्री पोखरेल नेपाली सेनाको हेलिकप्टरबाट कालापानी पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले राससलाई जानकारी दिएका छन्।
पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत गरि १० जना सहभागी रहने जनाइएको छ ।
पोखरेल कालापानीको व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ। दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला–तिंकर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य सुरु भएको छ ।
भ्रमणकै क्रममा उनले पहिलो पटक दार्चुलास्थित नेपाली सेनाको व्यारेक निरीक्षण गर्ने छन् । नेपाली सेनाका उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् ।
पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए। नेकपा एमालेको केन्द्रीय सदस्य रहेका बेला पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।