काठमाडौं- महानिरीक्षकले आफू नियुक्त भइसकेपछि आफूभन्दा अग्रज तथा पूर्व आइजीहरुलाई भेट गर्ने परम्परा नेपाल प्रहरीमा छ। तर यसअघिका आइजी सर्वेन्द्र खनालले उक्त परम्परा पच्छ्याएका थिएनन्। तर नवनियुक्त आइजी ठाकुरप्रसाद ज्ञवालीले पूर्व आइजीहरुसँग भेट गरी सल्लाहसुझाव लिएका छन् ।
आफूसँग भेटगरी सल्लाह सुझाव लिएपछि पूर्व आइजी खड्गजित बरालले फेसबुकमा लेखेका छन्, ‘नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) श्री ठाकुरप्रसाद ज्ञवालीज्यूको दुरदर्शी सुझबुझ। देशमा शान्ति सुरक्षा कायम राख्ने गहन जिम्मेवारी वहन गरेपछि प्रहरी प्रमुखले आफ्ना अग्रजहरूको आशिर्वाद लिने विगतमा भंग गरिएको नेपाल प्रहरीको अद्वितीय परम्परा एवम् संस्कारलाई पुनः निरन्तरता दिनुभएकोमा श्री ज्ञवालीज्यूको बेजोड सोचको जय नेपालका साथ प्रशंसा गर्दछु ।’
उनीसँग भेट भएपछि ९२ वर्षीय पूर्व आइजी बरालले के सुझाए दिए त? यसबारे पूर्व आइजी बरालले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘समग्र प्रहरी संगठनको हितमा काम गर्नु पर्यो। प्रहरी हुँ भन्दा शिर ठाडो होस्। तपाईंको कार्यकाल सफल रहोस् यिनै कुरा भए ।’
त्यस्तै आइजी ज्ञवालीले पूर्व आइजी दुर्लभकुमार थापालाई समेत उनकै निवासमा गएर भेट गरेका थिए। थापाले पनि आफ्नो शुभकामना दिँदै छोटो समयमा सम्झनयोग्य काम गर्न सुझाव दिएका थिए। पूर्व आइजी थापालाई उद्दत गर्दै उनकी श्रीमतीले नेपाल लाइभसँग भनिन्, ‘धेरै समय त पारिवारिक कुरा पनि भयो । सर एसपी भएर दाङ बस्दा उहाँ जन्मनु भएको रे। अनि सरले कार्यकाल सफल होस् भनेर शुभकामना दिनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।