काठमाडौ- प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबर्जस्ती करणी उद्योग मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौमा रहेको मुद्दामा आइतबार महराका कानुन व्यवसायीहरुले बहस गर्दैछन्।
संसद सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
महराविरुद्ध कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। जिल्लाले पहिलो सुनुवाइ गर्दै महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसविरुद्ध उनी उच्च अदालत पाटनसम्म पुगेका थिए। तर पाटनले धरौटीमा रिहा गर्न अस्वीकार गर्दै एक महिनाभित्र फैसला गर्न जिल्ला अदालतको नाममा आदेश गरेको थियो। उक्त आदेशपछि जिल्लाले अन्तिम फैसलाको तयारी गरेको थियो।
प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ माघ २६ गतेदेखि सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए।
जिल्ला सरकारी वकिल कार्यालयका अुनसार चन्द्रकान्त खनाल, उमाकान्त पौडेलसहित अरु दुई महिला जिल्ला न्यायाधीवक्ताहरुले पीडितका तर्फबाट बहस गरेका थिए।
उनीहरुले घटनाको विवरण र प्रहरीले संकलन गरेको प्रमाणका आधारमा महरा दोषी भएकाले १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका थिए। आइतबार महराका तर्फबाट बहस हुनेछ। उनीहरुको बहसपछि जिल्ला न्यायाधीशले उठेका बाँकी प्रश्नको बारेमा सरकारी वकिलको बहस सुन्नेछन् ।
दुवैका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने छ। उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग अभियोगपत्रमा गरिएको छ।
तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। गत असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबर्जस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।