बुटवल- प्रदेश- ५ मा मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले साझा सूचीका कानुन समयमा निर्माण नगर्दा प्रदेशलाई काम गर्न कठिनाइ भएको बताएका छन्।
उनले संघलाई साझा सूचीका कानुन निर्माणमा प्राथामिकता दिन आग्रह गरे। प्रदेश-५ को दोस्रो स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘साझा सूचीका कानुन संघले बनाएको छैन। हामी साझा सूचीका कानुनको पर्खाइमा छौं। साझा सूचीका कानुन नभएकै कारण हामीलाई काम गर्न कठिनाइ भएको छ।’
प्रदेश सरकार कानुन निर्माण र बजेट परिचालनको दृष्टिले पहिलो भएको भए पनि साझा सूचीका कानुन र केन्द्रका जिम्मेवारीका केही काम समयमा सम्पादन नहुँदा प्रदेशका कानुन निर्माणमा कठिनाइ भएको बताए।
मुख्यमन्त्रीले शून्य अवस्थाबाट अगाडि बढेको प्रदेश दुई वर्षको अवधिमा आइपुग्दा सन्तोषजनक अवस्था रहेको भए पनि अझै धेरै काम बाँकी रहेको बताए। पोखरेलले अझै पूरा गर्नुपर्ने दायित्व आफूहरुमाझ रहेकोले ती दायित्व पूरा गर्न थुप्रै जटिलता रहेको बताए।
मुख्यमन्त्रीले कर्मचारी समायोजनको विधिवत् अन्त्य नभएको बताउँदै केन्द्र सरकारबाट ४ हजारको जनशक्ति स्वीकृत गरी काम अगाडि बढेको बताए। ‘कर्मचारी समायोजनको काम अझै बाँकी छ। हामीलाई आवश्यक जनशक्ति प्रदेश लोक सेवा आयोग गठन गरी नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाइएको छ‚’ मुख्यमन्त्रीले भने।
प्रदेशलाई प्रविधियुक्त बनाउने योजनामा प्रदेश सरकार रहेको बताउँदै सुशासनका दृष्टीले अब्बल प्रदेश बनाउने प्रतिबद्धता मुख्यमन्त्रीको थियो। प्रदेशलाई प्रविधीयुक्त बनाउन सूचना तथा प्रविधी प्रतिष्ठान गठन गरेर अगाडि बढाएका छौं।
मुख्यमन्त्रीले प्रदेशमा रहेको सीमित श्रोत र साधनको भरपुर उपयोग गर्ने प्रदेश सरकारको योजना सुनाए। ‘कानुनी हिसाबले हामीले सिमित श्रोत साधन प्राप्त गरेका छौं ती सिमीत श्रोत र साधनलाई अधिकतम सदुपयोग गरी प्रदेशलाई समृद्ध बनाउने प्रयासमा छौं।
‘कृषि नै हाम्रो समृद्धिको आधार हो भनेर मैले पटक पटक भन्दै आएको छु‚’ मुख्यमन्त्रीले भने। पाल्पाको ढाका उद्योगको प्रवर्द्धन र गुल्मीको कफीलाई बजारीकरण गर्ने कार्यमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।
मुख्यमन्त्रीले वैशाखमा आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानीको ढोका खोल्ने विश्वास व्यक्त गर्दै कपिलवस्तुमा नयाँ औद्योगिक क्षेत्र बनाउन सकिने सम्भावना देखिएको र प्रदेशमा थप ३ वटा औद्योगिक क्षेत्र बनाउने योजना प्रदेश सरकारको रहेको बताए।
हामी औद्योगिक क्षेत्रहरुको विकास र बिस्तार गर्ने काममा लागेका छौं केन्द्र सरकारले जग्गा दिएमा उद्योग स्थापना गर्नका लागि आवश्यक पुर्वाधार बनाउने मुख्यमन्त्रीले बताए। मुख्यमन्त्रीले लुम्बिनी र लुम्बिनीसँग जोडिएका सम्पदाहरुको विकासमा प्रदेश सरकार निरन्तर सक्रिय रहने स्पष्ट पारे।
सामुदायिक विद्यालयहरुलाई आवश्यक सहयोग गर्ने तथा विद्यालयहरुमा प्राविधिक शिक्षा र उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई अन्यत्र जान नपर्ने वातावरण बनाउन लागेको मुख्यमन्त्रीले जानकारी दिए।
‘लुम्बिनी र राप्ती अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिँदैछ, लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाको रुपमा निर्माण गर्न गुरु योजना अगाडि बढाइएको छ भने जिल्ला अस्पतालहरुको विकास र स्तरोन्नति गर्ने काममा प्रदेश सरकार लागेको छ‚’ मुख्यमन्त्रीले भने।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलको योजनाबद्ध विकासमा आफूहरु जुटेको बताए। उनले प्रदेश सरकारसँग बुटवल सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पारे।
कार्यक्रमका अवसरमा प्रदेश ५ बाट संविधान दिवसका अवसरमा घोषणा भएका ३७ जनालाई विभिन्न पदकद्वारा विभुषित गरिएको थियो। कार्यक्रमअघि बुटवलको राजमार्ग चौराहबाट बाजागाजासहित विभिन्न जातजाती र समुदायले झाँकी प्रदर्शन गरेका थिए।
र्यालीमा प्रदेशका मन्त्रीहरु, सभामुख, उपसभामुख, मन्त्रालयहरुका कर्मचारी, नेपाल प्रहरी, सर्वसाधारणलगायत सयौंको संख्यामा सहभागिता रहेको थियो। र्यालीमा विभिन्न जातजाति र समुदायका झाँकी, पञ्चेबाजा, भजन, कृतन, लाखे नाच, मयूर नाचसमेत प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।