धनगढी- टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलगायत ११ जनाको रिहाइको माग गर्दै अनसनरत लक्ष्मण थारूको स्वास्थ्यमा समस्या देखिएको छ।
फागुन १ देखि अनसरत थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजकसमेत रहेका थारुको स्वाशप्रश्वास लगायतका समस्या देखिएको चिकित्सकले जानकारी दिएका हुन्।
चौधरीसहित ११ जनाको रिहाइलगायत १४ बुँदे माग राख्दै संयोजक थारू फागुन १ गतेदेखि अनसनमा छन्। धनगढीस्थित क्याम्पस चौक (गुरही)मा लक्ष्मण आमरण अनसनमा बसेका हुन्।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डा निराजनदत्त शर्मा पौडेलले लक्ष्मणको स्वास्थ्य अवस्था विस्तारै बिग्रँदै गएको जानकारी दिए।
लक्ष्मणको शरीरमा सुख्खापनको मात्रा बढ्दै गएको, मुटुको धडकनमा उतारचढाव भइरहेको उनले उल्लेख गरे। डा पौडेल अनसनस्थलमै पुगेर लक्ष्मणको स्वास्थ्य परीक्षण गरेका थिए। उनले लक्ष्मणलाई अस्पताल भर्ना हुन चिकित्सकको सुझाव छ।
थरुहट/थारुवान संघर्ष समितिका प्रवक्ता माधव थारुका अनुसार संयोजक लक्ष्मणमा बिहानैदेखि टाउको दुख्ने, चक्कर आउनेलगायतका समस्या संयोजक थारूमा देखिएको थियो। उनले भने, ‘हिजो आफै हिँडडुल गर्नुहुन्थ्यो। आज हात समातेर हिडाउनुपर्ने अवस्था रहेको छ।’
डाक्टर निराजनले दुई दिनसम्म खाना नखाएर बस्दा स्वास्थ्यमा गढबढी भएको बताए।
आदिवासी जनजाती महासंघका अध्यक्ष गोविन्द छत्यालले आमरण अनसन बसेको ४८ घन्टाभन्दा बढी भइसक्दा समेत सरकारको चासो नपुगेको भन्दै गुनासो गरे।
‘हामीले विगतदेखिनै १४ बुँदे माग अघि सारेका छौं। तर, सरकारले बेवास्ता गरिरहेको छ,’ उनले भने।
सरकारले अझ पनि चासो नदिए आन्दोलनका थप कार्यक्रम तय गरिएको समेत बताए।
उनका अनुसार शनिबार दिउँसो तीन घण्टा टीकापुरमा चक्काजाम गरिने बताए।
थरुहट/थारुवान टीकापुर मुद्दा खारेज गर्नु पर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देवीराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको छ।
उनीहरूले संविधान संशोधन गर्नु पर्ने समेत माग गरेका छन्।
संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति मोर्चाको असहमति जनाउँदै आएको छ।
यस्तै, भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठानलगायतमा आगजनी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग अगाडि सारेको छ।
टीकापुर घटना राजनीतिक भएकाले यसको समाधान राजनीतिक रूपमा नै हुनु पर्ने मोर्चाको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।