राजविराज- सप्तरीको बोदेबरसाइन-५, जाँजरमा मुस्लिम धार्मिक प्रवचन (आल्मी तब्लिगी इज्तिमा) मा सुरु भएको छ। भारतको नयाँ दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना साद साहावले कार्यक्रमको सुभारम्भ गरेका छन्।
कार्यक्रममा २ लाखभन्दा बढि मुस्लिम धर्मावलम्बी सहभागी छन्। स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजर गरी ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ७ सयभन्दा बढि सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ।
भारतको सीमावर्ती गाउँका केही र नेपाली मुस्लिम समुदाय सहभागी भएर कार्यक्रम गर्ने भनिएपनि पाकिस्तान, साउदी अरेबिया, मलेसिया, कुवेत, कतार, बंगलादेशलगायत तेश्रो मुलुकबाट समेत सहभागी बोलाएको पाइएपछि सुरक्षा सतर्कता बढाइएको सुरक्षा निकायले जनाएका छन्।
सहमति विपरीत बाहिरबाट मान्छे सहभागी गराएको सूचनापछि गृह मन्त्रालयले गत बिहीबार कार्यक्रम नै स्थगित गराएको थियो। राष्ट्रिय मुस्लिम आयोगको आग्रहमा राष्ट्रियस्तरकै कार्यक्रम गर्ने सहमतिपछि पुनः अनुमति लिएर कार्यक्रम सुरु गरिएको हो।
मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले शुक्रबार तेश्रो मुलुकका करीब २ सयभन्दा बढि व्यक्ति कार्यक्रम स्थलमा रहेको र उनीहरुलाई सहभागी गराएर आयोजकले गल्ति गरेको बताएका थिए।
तेश्रो मुलुकका नागरिक सहभागी गराइएपछि भारतीय सुरक्षा निकायले समेत कार्यक्रममा चासो र निगरानी बढाएको छ।
विहारको लौकही थानाका प्रमुख अरविन्दकुमार शुक्रबार नेपाल आएका थिए। इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीसँग उनले छलफल र कार्यक्रमको बारेमा जानकारी समेत लिएका छन्।
आयोजकले भने तेश्रो मुलुकका नागरिकलाई शुक्रबार नै फिर्ता पठाइएको जानकारी दिएका छन्। तर, डिएसपी भारतीले भने पाकिस्तानी र बंगलादेशी गरी ३९ जनामात्रै फिर्ता भएको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।